
काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानियसँग विभिन्न समयमा भएका सहमतिहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आइतबार बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटको अनुगमन गर्ने क्रममा उहाँले स्थानीयका मागहरू १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले वातावरणीय प्रभाव मूल्याङ्कनबाहेक अन्य मागहरू १५ दिनभित्र पूरा गर्ने बताउनु भयो । उहाँले वातावरणीय प्रभाव मूल्याङ्कन भने पुस महिनापछि हुने बताउनु भयो ।
सो कार्यको लागि परामर्शदाता छनौट गरी काम भइरहेको समेत उहाँले जानकारी दिनुभयो । ल्याण्डफिल साइटबाट प्रभावित हुने क्षेत्रको यकिन गर्न चार चरणको तथ्याङ्क आवश्यक पर्ने भएकाले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सम्पन्न गर्न केही समय लाग्ने उहाँको भनाइ छ ।
मन्त्री घिसिङले इआइएपछि प्रभावित क्षेत्रको पहिचान हुने भएकाले सोही बमोजिम जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढ्ने जानकारी दिनुभयो । मन्त्री घिसिङले स्थानीयवासी र नगरपालिकाबीच २०७९ मा भएको १८ बुँदे सहमति र २०८० सालमा प्रधानमन्त्रीसँग भएको ४ बुँदे सहमति अझै कार्यन्वयनमा नआएको स्वीकार गर्नुभयो ।
उहाँले स्थानियवासीसँग भएको सम्झौतालाई अनिवार्य कार्यन्वयन गर्नुपर्ने पक्षमा आफू रहेको बताउनु भयो । सहमति कार्यन्वयनका लागि सबै सरोकारवालाहरूसँग समन्वय गर्ने उहाँको भनाइ छ । उहाँले पुराना सम्झौता कार्यन्वयन हुँदा मात्रै पनि धेरै समस्या समाधान बताउँदै फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजनासहित अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अल्पकालीन रूपमा गर्न सकिने काम तत्काल अगाडी बढाउने र विगतमा भएका सहमति कार्यान्वयनका लागि गर्नुपर्ने नीतिगत निर्णय गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले फोहोर व्यवस्थापनको काम रातीको समयमा गर्न पनि निर्देशन दिनुभयो । राती काम गर्नको लागि उहाँले विद्युतको व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभयो ।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सहमति गर्ने तर त्यसलाई कार्यन्वयन नगर्ने प्रचलन बसेको भन्दै असन्तुष्टि जनाउनु भयो । नागरिकले आन्दोलन नगरेसम्म निदाएर बस्ने प्रचलन अन्त्य गर्नुपर्ने उहाँको माग छ । स्थानीयले नयाँ कुनै माग नराखेको भन्दै उहाँले सरकारसँग विगतमा भएको जमिनको रेखाङ्कन, मूल्याङकन, अधिकरण, निक्षेपको व्यवस्थापन सम्बन्धी भएको सहमति कार्यन्वयन गर्न आग्रह गर्नुभयो ।
मन्त्री घिसिङले स्थानीयको माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभएपछि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन गर्न पाँच दिन यता भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्याण्डफिलसाइटतर्फ गएका छन् । फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिका कार्यकारी अधिकृतसहितको टोली लिएर आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा जानुभएको थियो ।
टोलीले फोहोर विसर्जन गर्ने ठाउँको स्थलगलत निरीक्षण गर्नुकासाथै ल्याण्डफिल साइट पर्ने धादिङको धुनिवेशी नगरपालिकाका प्रमुख, नुवाकोटका ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाका वडाध्यक्षहरूले स्थानीय बासिन्दासँग अन्तक्रिया गरेक थिए ।