.png&w=1000&height=550)
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकास्थित मकालु बेस क्याम्पबाट सोलुखुम्बुतर्फ ट्रेकिङका लागि गएका जेसस मार्टिनेज नोभासलाई ट्रेकिङ रूटको ५ हजार ७ सय मिटर उचाइमा रहेको सेर्पिनिकोल क्षेत्रबाट उद्धार गरिएको छ ।
प्रतिकूल मौसमका कारण कात्तिक ११ गतेदेखि उक्त क्षेत्रमा फसेका नोभासलाई प्रहरीले हेलिकोप्टरबाट उद्धार गरिएको जनाएको हो । नोभासलाई आइतबार बिहान ईजी हेलि चार्टर सर्भिसले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी कुमारप्रसाद मैनालीले बताउनुभयो । उद्धार टोलीले नोभासलाई सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, डिङबोचेमा पुर्याएको उहाँले बताउनुभयो । नोभासको खोजी र उद्धारका लागि स्पेनिस दूतावास, प्रहरी प्रशासन र निजी उद्धार कम्पनीबीच निरन्तर समन्वय गरिएको थियो।
त्यस्तै गोरखाको पाङबारी हिमालमा फसेका मध्य १ जना इटालियन र ३ नेपाली लाई आइतबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ। हिमपात भएपछि ३ जना इटालियन र ३ जना नेपाली त्यहाँ फसेका थिए । ५ हजार ५ सय मिटर उचाइमा रहेको बेस क्याम्पमा रहेका ६५ वर्षका इटालियन नागरिक भेल्टर परलिनो र उनीसँग रहेका नेपालीहरू पेम्बा रेन्जी शेर्पा , दावा छिरी शेर्पा र पासाङ तामाङलाई कैलाश हेलिकप्टरबाट उद्धार गरी साम्दोमा ल्याइएको गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
६७ वर्षका स्तेफानो फरिनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटोको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । भारी हिमपातपछि गत सोमबारदेखि उनीहरू त्यहाँ फसेका थिए ।