
धनुषा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्र बजारमा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सहित चार जनाको मृत्यु भएको र दुईजना बालबालिका गम्भीर घाइते भएका छन् ।
विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई हिजो राति ठक्कर दिदा गणेशमान चारनाथ नगरपालिका भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते हुनुभएको छ । दुबै जनाको जनकपुरधाम स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । यात्रु वाहक बस र
चालक अनिल डगौरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक चारै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरघाममा राखिएको छ