काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण जेन-जी आन्दाेनलमा गएका मध्ये धेरैकाे ज्यान गएको बताउनुभएको छ ।
विजया दशमीको दिन जेन-जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचेको बताउनु भयो । राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिबद्धता उहाँले जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘दुःखद् घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जसकारण यो दुर्घटना भयो । बच्चाहरूले पढ्ने कसरी ? उहाँहरूको पढाइ, कामहरू दिनेगरी सोचिरहेका छौँ । उहाँहरूले मागेकै केही छैन । उहाँहरूको नोक्शान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट मद्दत गर्ने भन्ने हो ।’
प्रधानमन्त्री कार्कीसँगै शहीद परिवारलाई भेट्न पुग्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मृतक तथा शहीद परिवारलाई प्रधानमन्त्रीको चाहनाअनुसार शहीद परिवारसँग समय बिताएको बताउनु भयो । शहीदहरूको रगतमाथि अन्याय हुन नदिने र शहीदहरूको रगतले न्याय पाउनुपर्ने शहीद परिवारकाे भनाइ रहेकाे उहाँले बताउनु भयो ।
गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । साथै सयौँ मानिस घाइते भएका छन् । यस वर्ष पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री कार्कीले पनि सर्वसाधारणलाई दशैंको टीका लगाइदिनुभएन । जेन-जी पुस्ताको मृत्युको शोकमा रहेकाे आफूले टीका ग्रहण नगरेकाे प्रधानमन्त्री कार्कीले बताउनुभयाे ।