नेपाल मिडिया सोसाइटीको २२औं वार्षिक साधारण सभा सम्पन्न, सात बुँदे ‘काठमाडौं घोषणा-२०८२’ जारी

श्रावण १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल मिडिया सोसाइटीको २२औं वार्षिक साधारण सभा सम्पन्न, सात बुँदे ‘काठमाडौं घोषणा-२०८२’ जारी

काठमाडौं । नेपाल मिडिया सोसाइटीको २२औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा सम्पन्न भएको छ। 

सभाले सात बुँदे ‘काठमाडौं घोषणा-२०८२’ जारी गर्दै आगामी चार वर्ष कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

सभाबाट अध्यक्षमा मदन लम्साल (आर्थिक अभियान) चयन हुनु भएको छ भने निवर्तमान अध्यक्ष शुभशंकर कंडेल (एबीसी टिभी) हुनुहुन्छ। उपाध्यक्षमा धर्मराज भूषाल (हिमालय टिभी) र महेश स्वार (कान्तिपुर दैनिक), महासचिवमा बोधराज त्रिपाठी (सौर्य दैनिक), सचिवमा नवराज कुँवर (बुटवल टुडे दैनिक), कोषाध्यक्षमा जनक पन्त (टिभी टुडे) चयन भएका छन्।

सदस्यमा डा. बालकृष्ण चापागाईं, निकिता पौडेल, विनोद पौडेल, सुरेन्द्र बहादुर सिंह, राजन पोखरेल छन्। संस्थापक अध्यक्ष कैलाश सिरोहीया र क्याप्टेन रामेश्वर थापा सल्लाहकारमा चयन भएका छन्। संस्थापक अध्यक्ष सिरोहीयाले संस्थाको योगदान र भावी योजनाका लागि शुभकामना व्यक्त गर्नुभयो।

सात बुँदे ‘काठमाडौं घोषणा २०८२’ को सारांश:

प्रेस स्वतन्त्रता संरक्षण- संविधान र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चारमाध्यमलाई समाचार प्रकाशनमा स्वतन्त्र हुन पाउनुपर्ने माग, पत्रकारलाई फौजदारी अभियोग लगाउने कार्यको विरोध।

नीजि सञ्चारमाध्यमप्रति विभेद बन्द गर्न आग्रह- सरकारी बजेट र विज्ञापन नीति निजि क्षेत्रमैत्री बनाउनुपर्ने, सरकारी मुखपत्रलाई प्राथमिकता दिनु गलत।

प्रस्तावित मिडिया काउन्सिल विधेयकको विरोध- विधेयक नियन्त्रणमुखी भएको, छाता ऐन बनेपछि मात्र अन्य कानुन बनाइनुपर्ने, स्वत: नियमनको सिद्धान्तमा सरकारको हस्तक्षेपको विरोध।

उपभोक्ता सूचना सुनिश्चितता- उपभोक्तासम्बन्धी सामान तथा सेवाको प्रचारप्रसार आमसञ्चारमाध्यममार्फत गर्नुपर्ने, विशेष गरी आयातित वस्तुहरूको सन्दर्भमा स्पष्ट सूचना दिनुपर्ने।

शैक्षिक र बीमा विज्ञापनमा प्रतिबन्धको विरोध- शैक्षिक तथा बीमा सेवाको विज्ञापनमा सरकारले लगाएको प्रतिबन्धले जानकारी प्रवाहमा बाधा पुर्‍याएको भन्दै नीति परिवर्तनको माग।

भ्रामक सूचना र विदेशी विज्ञापन नियन्त्रण- सामाजिक सञ्जालमा कुसूचनाको महामारी, विदेशी विज्ञापनले अर्थतन्त्र र कर प्रणालीमा असर पुर्‍याएको भन्दै विज्ञापन प्रवाहमा पारदर्शिता र वैधानिकता सुनिश्चित गर्न आग्रह।

अस्वस्थ प्रतिस्पर्धाको अन्त्य र आचारसंहिताको पालना- सञ्चारमाध्यमहरूबीचको अनियमित प्रतिस्पर्धाले बजार विकृत बनाएको भन्दै न्यूनतम दरसहितको पारदर्शी आचारसंहिताको पालना गर्न आग्रह।

महासचिव बोधराज त्रिपाठीले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं घोषणालाई सम्पूर्ण सञ्चार उद्यमीहरूको साझा प्रतिबद्धता र सुधारको खाका भएको बताउनुभयाे।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.