काठमाडौं । असार २४ गते गएको बाढीले मितेरी पुल बगाएपछि चीनतर्फ रोकिएका नेपालीहरूलाई फिर्ता ल्याउने प्रक्रिया सुरू भएको छ ।
बाढीले पुल बगाएपछि चिनतर्फ उद्धार गरेर राखिएका र चालकहरू रोकिएपछि स्वदेश फर्किन सकिरहेका छैनन्। बाढीमा परेर उद्धार गरिएका ९१ जना चिनतर्फ रोकिएका छन्।
त्यस्तै ढुवानीका सामान बोक्ने सवारी चालकहरू करिब १ सय ६५ जना र चिनतर्फै काम गर्न बसेका २४ जनालाई स्वदेश फर्काउन पहल भैरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनु भयो ।
जिल्ला प्रशासन कार्यालय रसुवाले परराष्ट्र मन्त्रालयमार्फत चिनको सरकारी पक्षसँग समन्वय गरिरहेको छ । नेपालले आफनो तर्फबाट सबै प्रक्रिया पुरा गरिसकेको र चीनस्थित नेपाली दुतावासले चिनियाँ अधिकारीहरूसँग समन्वय गरिरहेकाले केही दिनभित्रै नेपालीहरू स्वदेश फिर्ता हुने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनु भयो ।
उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट ल्याउने प्रयास भैरहेकाले सबैलाई तयारी अवस्थामा बस्न जानकारी गराइसकेको छ । त्यस्तै स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म अवरूद्ध रहेको सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
आइतबार ४ बजेदेखि पहिरोका कारण बिग्रिएको सडक एकतर्फी सञ्चालनमा आएको हो । बाढीले केरूङ नाका सम्मको सबै यातायात सेवा अवरूद्ध भएको थियो ।