काठमाडौं । अबिरल वर्षाका कारण बाढी पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ भने ठाउँ-ठाउँमा राजमार्ग अवरूद्ध भएका छन् ।
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षीया विष्णुमतीको मृत्यु भएको छ । उहाँहरू पहिरोमा पुरिएर बेपत्ता भएकोमा प्रहरी टोली र स्थानीयको सक्रियतामा शव निकालिएको थियो।
गएराति आएको पहिरोले विश्वकर्मा दम्पतीलाई घरभित्रै पुरेको थियो भने बुहारी पवित्रा भने पहिरो खस्नासाथ हाम्फालेर बाँच्न सफल भएको बताइएको छ ।
उता पहिरोले घर पुरिँदा थबाङ गाउँपालिका ४ थापाखर्कका ७२ वर्षीय गोठे घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। रोल्पा प्रहरीका प्रवक्ता रोहितकुमार शाहीकाअनुसार माथिबाट आएको पहिरोले घर पुरिँदा घर्तीमगरको मृत्यु भएको थियो।
यसैबीच वर्षाले देशका विभिन्न भागमा सडकहरू अवरूद्ध भएका छन् । निरन्तरको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ ।
यसैगरी सडक माथिबाट खसेको पहिरोले धनकुटाको साँगुरीगढी गाँउपालिका-५ लुम्फाकुङस्थित निर्माणाधीन रवि-राँके सडक आयोजनाको भेडेटार खण्ड अवरूद्ध बनेको छ । छरूवा खोलामा आएको बाढीले तमोर करिडोरको चौविसे गाउँपालिका-४ मा सडक अवरूद्ध भएको छ ।
अविरल वर्षाका कारण इलामको सन्दकपुर-३ सुलुबुङ र ५ जमुना जोड्ने पुलको छेउको पहिरोले फेरि पनि बाटो अवरूद्ध भएको छ । गत वर्षदेखि नै यो ठाउँमा निरन्तर पहिरो झर्ने गरेकाले जोखिम बढ्दै गएको छ ।
यसैगरी खोटाङको दिक्तेल-गाईघाट सडकको रेग्मीटारदेखि तुवाखोलासम्म अन्दाजी ४ किलोमिटर क्षेत्रमा पहिरो खसेको तथा पानीले खोलेपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
यस्तै वर्षाले दोलखाको उत्तरी क्षेत्र सुनखानी-साङबा सडकमा क्षति गरेपछि यातायात ठप्प भएको छ । यसले कालिञ्चोकका-५ वटा वडाको सडक सम्पर्क विच्छेद भएको छ।
बाढीले विगु -८ र कालिञ्चोक-२ जोडने पैदलमार्गको ढालन पुल बगाएको छ। यस्तै सिंगटी- बाबरे खण्डको यातायात अवरूद्ध बनेको छ। बाढीले माछापालन फर्म र ३० भन्दा बढी परिवारको खेतसमेत बगाएको प्रहरीले जनाएको छ ।
यस्तै सिंगटी-लामाबगर सडक खण्डअन्तर्गत विगु गाउँपालिका-१ सोल्टीमोडमा क्षति गरेपछि यातायात अवरूद्ध बनेको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी र त्यसका सहायक खोलामा बाढी आउनसक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
यता नारायणघाट-मुग्लिङ सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ तुइन खोला नजिकै कारमा ढुङ्गा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका छन् ।
आइतबार दिउँसो नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारमा ढुङ्गा खस्दा तीनजना भारतीय नागरिक घाइते भएका हुन् ।