पाल्पामा अर्गानिक तरकारी खेती गर्ने किसान बढे, बजार सहज भए पनि प्राविधिक सहयोग भने भएन

श्रावण ४, २०८२ |माधव अर्याल
पाल्पामा अर्गानिक तरकारी खेती गर्ने किसान बढे, बजार सहज भए पनि प्राविधिक सहयोग भने भएन

पाल्पा । पाल्पाको अर्गानिक तरकारी बुटवल, भैरहवा र पोखरासम्म पुग्न थालेसँगै यसको व्यावसायिक खेती गर्ने किसानहरू बढेका छन् । तरकारीसँगै रिब्दीकोटको अकबरे खुर्सानी खेतीले देश विदेशमा समेत ख्याती पाएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिका-१, ख्याहाका रामप्रसाद न्यौपानेले तरकारी खेती, अकबरे खुर्सानी र भाैसीपालन गरेर वार्षिक १० देखि १५ लाख कमाउनुहुन्छ । २० वर्ष सदरमुकाम तानसेनमा पत्रकारिता गरेर गाउँ फर्किनुभएका न्यौपानेको कृषि कर्ममा लागेपछि आर्थिकस्तर पनि सुधार भएको छ । 

मौसमी तथा बेमासमी तरकारी लगाउँदा फाइदा पनि राम्रै भएको छ । २० वटा अस्थायी टनेलमा गोलभेाडा कतै पाकेको छ, कतिपय टनेलमा भर्खर लगाउनु भएको छ, कतै फल लागेको छ । घरमा तीनवटा दुहुना भैँसी पनि छन् । भाडामा जग्गा लिएर अकबरे खुर्सानी खेती पनि गर्नुभएको छ ।

रामप्रसादकी श्रीमती गीता गाउँकै विद्यालयमा स्थायी शिक्षक हुनुहुन्छ । बिहान, बेलुकी श्रीमानलाई साथ दिँदै व्यवसायिक किसान दर्ज हुनुभएको छ । यो दम्पतीले आफ्नो जग्गाबाहेक वार्षिक ७५ हजार रूपैयाँमा जग्गा भाडामा लिएर तरकारी खेती, भैँसीपालन र अकबरे खुर्सानी खेती गर्दै आएको छ ।

गाउँमा उत्पादन भएको तरकारी बिक्रीका लागि प्रगतिशील राम जानकी कृषि सहकारी संस्थाले व्यवस्थापन गर्दै आएको छ । तरकारी खेतीका लागि स्थायी तथा अस्थायी टनेल निर्माण, सहकारीमार्फत संकलन केन्द्र सञ्चालन, तरकारी खरिद तथा त्यसलाई बजार व्यवस्थापनमा समेत सघाएको छ । व्यावसायिक किसानले प्राविधिक समस्या भने बेहोर्नुपरेको छ ।

रिब्दीकोट गाउँपालिकामा सञ्चालित कृषि परियोजनामार्फत अनुदान पाएपछि किसानले थप उत्साही छन् । गाउँपालिकाको ७० र हेफर नेपालको ३० प्रतिशत लगानीमा सञ्चालित परियोजनाको सहजिकरण ग्रामीण आर्थिक विकास संघले गरेको छ । 

गाउँपालिकाका एक हजार किसानले प्रत्यक्ष सेवा पाएको र बजार प्रणालीका संयन्त्रमार्फत ३ हजार परिवार लाभान्वित भएका छन् । 


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।