भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडक ६ लेन विस्तार कार्य निकै सुस्त गतिमा भइरहेको छ ।
भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तार भइरहेपनि साँगादेखि धुलिखेलसम्मको काम रोकिएको छ । यस्तै सुर्यविनायकदेखि साँगासम्म भने केहि स्थानमा काम भइरहेको छ ।
२०७९ पुस २४ बाट सुरू गरिएको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएपनि अहिलेसम्म करिब ३५ प्रतिशतमात्रै प्रगति भएकोे छ । यहि गतिमा काम हुने हो भने तोकिएको समयमा सडक विस्तारको काम सकिने सम्भावना न्युन हुँदै गएको छ ।
सडक विस्तारका लागि ७ दशमलभ ५ किमी लामो सूर्यविनायक-साँगा सडकखण्ड ३ अर्ब ८८ करोड रूपैयाँ र साँगा-धुलिखेल ८ दशमलभ ४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
अहिले भने साँगा क्षेत्रमा कलंकीको मोडलमा अन्डरपासको लागि ठुलो मेसिनको सहायताले ड्रिलिंग गर्ने काम भइरहेको छ । तर जमिन मुनि ठूलो ढुंगा रहेका कारण ड्रिलिंग गर्न समस्या आएको छ ।
ड्रिलिंगले गर्दा साँगा क्षेत्रका घर तथा जमिनहरू भुकम्प आएको वेला जस्तै जमिन हलिने गरेको स्थानीहरूको भनाइ छ । प्राविधिकहरूले स्थानीयसँग समन्वय नगरि डीपीआर तयार पारिएकाले अहिले यो समस्या आएको स्थानीयहरूले बताएका छन् ।
सूर्यविनायक-धुलिखेल, सिन्धुली-बर्दिबास सडक आयोजना कार्यालयकाअनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य कहिले बजेट अभाव त कहिले वर्षायामले गर्दा ढिलाइ भएको हो ।
अहिले सो सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र 'कलभर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ त्यसै गरी सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठुलो घुम्ती, तल ठुलो भिर भएकाले काम गर्न केही अप्ठेरो परेको छ ।
आयोजनाकाअनुसार मुआव्जाको समस्या ९० प्रतिशत समाधान भएकाले वर्षायाम सकेपछि भने सडक विस्तारको कामले निरन्तरता पाउने जनाएको छ ।