हेटौँडाका जनप्रतिनिधिहरूको प्रशासन परिसरमै धर्ना

श्रावण ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
हेटौँडाका जनप्रतिनिधिहरूको प्रशासन परिसरमै धर्ना

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरू एक महिनाअघि भएको सांघातिक आक्रमणको दोषी अहिलेसम्म पक्राउ नपरेको भन्दै जिल्ला प्रशासन कार्यालयको परिसरमै धर्नामा बसेका छन् ।

गत असार ४ गते दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यालयमै आक्रमण भएको थियो । घटनापछि आक्रमणकारीहरूको पहिचान भइसकेको जनप्रतिनिधिहरूको दाबी भएपनि एक महिना बितिसक्दा समेत दोषीहरू पक्राउ नपरेको भन्दै उनीहरू प्रशासनविरूद्ध सडकमा उत्रिएका हुन् । 

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता न्यौपानेले आफूलाई आक्रमण गर्ने व्यक्तिहरू को हुन् भन्ने सिसिटिभिमार्फत स्पष्ट भइसके पनि कारबाही प्रक्रिया अघि नबढेको गुनासो गर्नुभयो । उहाँले वडा कार्यालयमा बस्दा असुरक्षित महशुस भएको भन्दै सेवा प्रवाहका लागि सिधै जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा आउनुपरेको गुनासो व्यक्त गर्नुभयो ।

यस विषयमा प्रशासनसँग पटक-पटक छलफल भए पनि राजनीतिक प्रभावमा परेर ढिलासुस्ती भएको उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले प्रमुख जिल्ला अधिकारी (सिडिओ) स्किम श्रेष्ठ र प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कामाथि आरोप लगाउनु भयो । 

मकवानपुर जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले भने प्रहरीको खोजी कार्य तिब्र गतिमा भइरहेको बताउनु भयो । 

उहाँकाअनुसार घटना भएको केही मिनेटमै प्रहरी घटनास्थलमा पुगेको भए पनि आक्रमणकारीहरू त्यहाँबाट भागिसकेका थिए । त्यसयता प्रहरी निरन्तर अनुसन्धानमा खटिएको कँडेलको दाबी छ । उहाँले उक्त घटनालाई राजनीतिक रूपमा नहेरी कानूनी प्रक्रियाअनुसार मात्र अघि बढाइने स्पष्ट पार्नुभयो ।

यस आन्दोलनलाई नेपाली कांग्रेसले पनि समर्थन जनाएको छ । कांग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव इटनीले प्रमुख जिल्ला अधिकारीको कमजोरीकै कारण प्रहरीको क्षमता हुँदा-हुँदै पनि आक्रमणकारीहरू अहिलेसम्म पक्राउ नपरेको आरोप लगाउनुभएकाे छ । प्रमुख जिल्ला अधिकारीको गैरजिम्मेवार व्यवहारले मकवानपुरमा यस्ता घटनाहरू बढ्दै गएको उहाँको आरोप छ ।

वडाध्यक्षमाथि भएको आक्रमणको एक महिना बितिसक्दा पनि दोषी पत्ता नलाग्नु र कारबाही प्रक्रिया अघि नबढ्नुले जिल्लाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । 

सिडिओ स्किम श्रेष्ठ र एसपी विश्वराज खड्काको नेतृत्वप्रति चौतर्फी आलोचना भइरहेको छ । विरोधमा रहेका वडाध्यक्षहरूले दुई दिनसम्म जिल्ला प्रशासन कार्यालयको परिसरमै जनसेवा गर्ने र त्यसपछि पनि माग सम्बोधन नभए थप आन्दोलनको घोषणा गर्ने जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.