कानूनले मात्र सञ्चार क्षेत्रलाई नियमन र नियन्त्रण गर्न खोज्नु गलतः कांग्रेस सांसद भण्डारी

श्रावण ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
कानूनले मात्र सञ्चार क्षेत्रलाई नियमन र नियन्त्रण गर्न खोज्नु गलतः कांग्रेस सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले प्रविधिको बढ्दो विकासले आम मानिसको सामाजिक जीवनलाई चुनौती दिँदै गएको बताउनु भएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद भण्डारीले यस्तो धारणा राख्नुभएको हो । 

उहाँले बढ्दो प्रविधिको विकासले सामाजिक-सांस्कृतिक जीवनमा समेत नकारात्मकता बढ्दै गएको बताउनु भयो । उहाँले कानूनले मात्र सञ्चार क्षेत्रलाई नियमन र नियन्त्रण गर्न खोज्न नहुनेमा जोड दिनुभयो । 

उहाँले सञ्चार क्षेत्रलाई स्वनियम र आर्टिफियिल इन्टेलिजेन्स (एआई)को सदुपयोग गर्न प्रोत्साहित गरेर विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चारमाध्यमले प्रशारण-प्रकाशन गर्ने समाचारहरू सत्य तथ्य र समाजप्रति उत्तरदायी हुनेगरी विधेयकलाई समृद्ध बनाउन जोड दिनुभयो । उहाँले सञ्चार क्षेत्रमा बढ्दो विकृति नियन्त्रण गरी सांस्कृतिक समाज निर्माणमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।

सांसद भण्डारीले विधेयकमा कर्मचारी व्यवस्थापनको विषय मात्र प्रवेश गराइएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले विधेयकमा समग्र सञ्चार क्षेत्रको सुधार र नियमनका विषयम गम्भीर भएर विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.