मिडिया काउन्सिल सरकारबाट पूर्णरूपमा अलग भएर बस्न सक्दैनः मन्त्री गुरूङ

श्रावण ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
मिडिया काउन्सिल सरकारबाट पूर्णरूपमा अलग भएर बस्न सक्दैनः मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मिडिया काउन्सिललाई स्वतन्त्र र स्वायत्त संयन्त्रको रूपमा विकास गरिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरूङले यस्तो बताउनुभएको हो । 

काउन्सिललाई स्वायत्त र स्वतन्त्र संयन्त्रको रूपमा विकास गरिएपनि सरकारसँग कुनै न कुनै रूपमा जोडिनुपर्ने भएको कारण सरकारबाट टाढा राख्न नसकिने जिकिर उहाँले गर्नुभयो । 

मिडिया काउन्सिल स्वतन्त्र र स्वायत्त संयन्त्र भएपनि सरकारबाट पूर्णरूपमा अलग भएर बस्ने कुरा सम्भव नहुने उहाँको भनाइ छ । सञ्चार क्षेत्रमा अनुशासन र मर्यादा आवश्यक भएकाले त्यसका लागि स्वतन्त्र संयन्त्रको विकास गर्न खोजिएको ऐन निर्माण लागिएको पनि बताउनु भयो । 

मन्त्री गुरूङले सामाजिक सञ्चालको माध्यमबाट हुने साइबर अपराधको अवस्था गम्भीर भइरहेको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । उहाँकाअनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म १९ हजार ७३० वटा साइबर अपराध सम्बन्धी उजुरी परेका छन् । उहाँले सामाजिक सञ्जालमार्फत हुन अपराध नियन्त्रणका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्मा दर्ता गरिसकेको पनि बताउनु भयो ।

राष्ट्रिय सभाबाट पास भएर आएको मिडिया काउन्सिल विधेयकमाथि समितिले सैद्धान्तिक छलफल सकाएको छ । समितिको सोमवार मंगलबारको बैठकमा संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने समितिको तयारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.