कोशी र गण्डकीमा भारी वर्षा, विभिन्न नदी र खोलामा बाढीको खतरा

उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध
श्रावण ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोशी र गण्डकीमा भारी वर्षा, विभिन्न नदी र खोलामा बाढीको खतरा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव र वर्षा गराउने मौसमी प्रणालीका कारण कोशी, मधेश, बागमती र गण्डकी प्रदेश आसपासको क्षेत्रमा वर्षा भइरहेको छ ।

देशका विभिन्न स्थानहरुमा भारी वर्षा भइरहेकाले बाढी पहिरो तथा डुबानको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचो भूभागमा दिउँसोसम्म विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मौसमी प्रणाली विकसित भई मेघगर्जन चट्टयाङ्ग र हावाहुरीसहित वर्षा भैरहेको र उक्त प्रणाली दक्षिण पश्चिम दिशामा फैलिने क्रममा रहेको विभागले जनाएको छ । वर्षाका कारण खोला तथा नदीहरुमा जलसतह बढेपछि बाढी पूर्वानुमान महाशाखाले जोखिम बढेको भन्दै सूचना नै जारी गरेको छ । महाशाखाका अनुसार कास्कीको लुम्ले, धनकुटाका मुलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरानबजार अनि इलामको माईपोखरीमा भारी वर्षा मापन भएको छ । वर्षाका कारण इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाइराख्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

मधेश प्रदेश र बागमति प्रदेशका जिल्लाहरुमा भने हल्कादेखि मध्यम वर्षा भएको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा भएको छ । लमजुङका बुझुङ र खुदीबजार अनि पर्वतको पन्चासेमा पनि वर्षा भएको छ । नारायणी नदी बेसिन अन्तर्गत पर्वतको मोदी खोला नयाँपुल जल मापन केन्द्रमा बाढी आएको छ । यसैगरी तनहुँको भार्षे र रुकुमपूर्वको शेरागाउँमा पनि राम्रै खालको वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.