काठमाडौं । साफ अन्डर नाइन्टिन च्याम्पियनसिपमा नेपाल समुह बी को उपविजेता बनेको छ । समुहको अन्तिम खेलमा नेपाल घरेलु टिम भारत सँग ४-० गोलले पराजित भएको हो ।
नेपाल र भारत यसअघिनै सेमीफाइनल प्रवेश गरिसकेका थिए । अरूणाञ्चल स्थित गोल्डेन जुब्ली स्टेडियममा नेपालले खेलको पहिलो हाफमै दुई गोल खाएको थियो । भारतले २८औं मिनेटमा रोहेन सिंहको गोलमार्फत् अग्रता लियो ।
एक मिनेट पनि बित्न नपाउँदै भारतले अग्रता दोब्बर पार्यो । यो पटक उसका लागि ओमङग डोडुमले गोल गरेका हुन् । २-०ले पछि परेको नेपालले ब्रेकपछि पनि पुनरागमन गर्न सकेन् ।
७६औं मिनेटमा रोहेनले ब्यक्तिगत दोस्रो गोल गरे । ८४औं मिनेटमा डेनी मेइटेले गोल गरेपछि नेपालले ४-०को फराकिलो अन्तरको हार बेहोरेको हो । यो जीतसँगै भारत दुई खेलमा शत प्रतिशत नतिजाका साथ समुह विजेता बन्यो ।
उसको दुई खेलबाट ६ अंक भयो । नेपाल ३ अंक जोड्दै उपविजेता बनेको हो । नेपालले समुहको आफ्नो पहिलो खेलमा श्रीलङका माथि ५-० गोलको जित हात पारेको थियो ।
अब नेपालले सेमीफाइनलमा बंगलादेशसँग खेल्नेछ । बंगलादेश समुह ए को विजेताका रूपमा अन्तिम चारमा पुगेको हो । अर्को सेमीफाइनलमा भारत र माल्दिभ्स आमने सामने हुनेछन् । गत संस्करणमा नेपाल फाइनलमा बंगलादेश संगनै पराजित भएको थियो । सेमीफाइनल शुक्रबार हुनेछ ।