स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर

जेष्ठ १, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको पुरक अभियोजनमा ३७ लाखभन्दा बढी बिगो मागदाबीसहित सांसद राईविरुद्द मुद्दा दायर भएको हो । २० जनाको जाहेरीको पुरक अभियोजनमा ३७ लाख ३५ हजार ८ सय ४३ रूपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिनुभयो । 

सांसद राई स्वर्णलक्ष्मी सहकारीको सहसचिव रहँदा बचत हिनामिना भएको थियो । राईलाई वैशाख १३ गते प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 

सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको जनाइएको छ । राई जिम्मेवारीमा रहँदा २ करोड ४० लाख ४४ हजार ७९० रूपैयाँ सहकारीबाट अपचलन भएको सहन्यायधिवक्ता काफ्लेले जानकारी दिनुभयो । 

संगठित अपराधको कसुरमा ६० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था भएपनि सांसद राईको हकमा भने १७ दिनमै अदालतमा मुद्दा दर्ता भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.