सुर्खेत-दैलेख एक लेन सडकको बेहाल अवस्था, सधैँ दुर्घटनाको जोखिम

वैशाख २२, २०८२ |चक्र भण्डारी
सुर्खेत-दैलेख एक लेन सडकको बेहाल अवस्था, सधैँ दुर्घटनाको जोखिम

३३ वर्ष पहिले बनेको दैलेख-सुर्खेत एक लेन सडक साँघुरो मोड, खाल्डाखुल्डी र सवारीसाधनको बढ्दो चापका कारण जोखिमपूर्ण बन्दै गएको छ । मर्मतका नाममा बर्सेनि सडक टालटुल गर्नेबाहेक स्तरोन्नतिको काम हुन नसक्दा यात्रुहरुलाई सास्ती छ ।

दैलेख-सुर्खेत ६७ किलोमटिर सडक २०४९ सालमै बनेको हो एक लेनको यो सडक पहिले सवारीसाधनको चाप नहुँदासम्म राम्रै थियो । तर, पछिल्लो समय दैलेखभन्दा माथिका धेरै जिल्लामा सडक पुग्यो । 

त्यसले गर्दा अछाम, कालीकोट, जुम्ला, जाजरकोट लगायतका जिल्ला पुग्न छोटो पर्ने हुनाले धेरैले मुख्य राजमार्गको विकल्पमा यो सडकबाट यात्रा गर्न थाले । जसले गर्दा यहाँ सवारी चाप निकै बढेको छ । साँघुरा मोड, ठाउँठाउँमा उम्किएको पिच, साँघुरो सडकमा सार्वजनिक यातायात व्यवसायीमा अस्वस्थ प्रतिस्पर्धा हुनथालेपछि यात्रामा जोखिम बढेको छ ।

यो सडकको अधिकांश ठाउँमा कालोपत्रे उक्किसकेको छ । मर्मतका लागि केही खण्डमा काम भइरहे पनि गुणस्तरीय काम नहुँदा २-४ महिनामै पिच उक्किने गरेको छ । पहाडी क्षेत्रको घुम्तीमा मालवाहक ट्रकहरुलाई चल्न दिएपछि पिच पेलिएर चाँडै बिग्रने गरेको छ ।

साँघुरा मोड, धेरै उकालो ओराले भएको सडकमा बढेको यातायात व्यवसायीको अस्वस्थ प्रतिस्पर्धाले दुर्घटना बढिरहेको छ । यहाँ ३ वर्षयता ३ सय २ वटा सवारी दुर्घटना भएका छन् । चालु आर्थिक वर्षमा हालसम्म ११ जनाले यो सडक खण्डमा भएको दुर्घटनामा ज्यान गुमाएका छन् ।

सडक दुई लेनको बनाउन र मोडहरु चौँडा पार्न स्थानीयले पटकपटक माग गरे पनि सुनुवाइ हुन सकेको छैन ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।