जलवायु परिवर्तनका जोखिम ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्छः उर्जामन्त्री खड्का

चैत्र १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
जलवायु परिवर्तनका जोखिम ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्छः उर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलवायु परिवर्तनका जोखिमहरू ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

आज काठमाडौंमा विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

जलवायु परिवर्तनबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी सरकारले आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभएको छ ।

उहाँले हिमनदीहरु क्रमशः साना हुँदै गइरहेको र जलावयु परिवर्तनको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको बताउनुभयो ।

उहाँले अहिले नै जलवायु परिवर्तनबाट पर्ने असर न्युनिकरणका लागि पूर्व तयारी नगर्ने हो भने भविष्यमा नेपालको जलश्रोतमा गम्भीर चुनौति आउनसक्ने बताउनुभयो । जलवायु परिवर्तनका कारण नेपालका हिमनदीहरु पग्लिने क्रम बढिरहेको र हिमताल फुट्ने क्रम पनि जारी रहेको बताउनुभयो ।

उहाँले सरकारले पूर्वसूचना प्रणालीलाई अझ बलियो बनाउने काम गरिरहेको बताउनुभयो । मन्त्री खड्काले पछिल्ला वर्षहरूमा पूर्वसूचना प्रणालीका कारण धेरै जनधनको क्षति हुनबाट रोकेको बताउनुभयो । 

मन्त्री खड्काले सरकार हिमनदीहरुको विस्तृत अध्ययन, जलचक्रमको वैज्ञानिक अनुगमन गर्दै जाने प्रतिवद्धता जनाउनुभयो । हिमनदीहरुको संरक्षण र जलवायु परिवर्तनहरुको असर न्युनिकरण सहकार्य गर्न सरकार अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्दै अघि बढिरहेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.