काभ्रे । निर्माणाधीन अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकको ठेक्का सडक डिभिजनले रद्द गरेको छ । मंगलबार बसेको सडक डिभिजन भक्तपुरले उक्त सडकको ठेक्का रद्द गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ ।
काभ्रेको धुलिखेलदेखि–खावा भञ्ज्याङसम्म चार किलोमिटर सडक गौरी पार्वती निर्माण सेवा प्रालिले २०७९ जेठ २० मा ठेक्का लागेकोमा सम्झौता बमोजिम उक्त सडक २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने थियो । तर ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै सडक बनाइरहेको थिएन । अहिले त्यस खण्डको निर्माण ठप्प नै छ ।
स्थानीयले गुनासो गरेपछि र यात्रुले सास्ती बेहोरेपछि संसदको पूर्वाधार समिति समेत अनुगमनमा गएको थियो । सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि गत माघ १९ गते स्पष्टीकरण समेत सोधिएको थियो भने निर्माण कम्पनीले दैनिक हर्जना मार्फत कार्य गरेको भएता पनि कार्यलयले ठेक्का रद्द गरेको हो ।
त्यसपछि निर्माण कम्पनी सडक डिभिजनमा उपस्थित भएर लिखित स्पष्टीकरण दिए पनि जवाफ सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको कार्यालयले जनाएको छ ।
यो सडक हुँदै चीन जोड्ने छोटो नाका तातोपानी जाने हजारौं सडक तथा सिन्धुपाल्चोक, रामेछाप, दोलखा आदि जाने यात्रु र सवारीले सदैव सडककै कारण सास्ती भोग्न बाध्य छन् ।