काठमाडौं । देशको प्रशासनिक मुख्यालय सिंहदरबारका धेरैजसो भवनमा न स्मोक डिटेक्टर छन् न त अग्नि नियन्त्रक दस्ता अर्थात् फायर फाइटर युनिट नै छ । सिंहदरबारभित्रको खानेपानी मन्त्रालयमा शनिबार भएको आगलागीले देशकै प्रमुख प्रशासकीय क्षेत्र विपद्का दृष्टिले कति सुरक्षित छ ? पर्याप्त पूर्वतयारी र पूर्वाधार छन् कि छैनन् भन्ने जस्ता अनगिन्ती प्रश्न सिर्जना भएका छन् ।
सिंहदरबारभित्रका अधिकांश भवन विपद्को तयारीका हिसाबले जोखिमपूर्ण छन् । आगलागी भएको सूचना दिने कुनै पनि प्रविधि छैन । आगलागी भइहालेमा पनि नियन्त्रणका लागि कुनै संयन्त्र छैन । देशकै संघीय प्रशासनिक केन्द्रले स्थानीय तह गुहार्नुपर्ने विडम्बना छ ।
संघीय संसद् अन्तर्गतको पूर्वाधार विकास समिति छिर्दै गर्दा देखिने फायर एक्सटिङग्विशरको म्याद गुज्रिसकेको छ । सिंहदरबारका हरेक भवनका भित्ता-भित्तामा यस्ता फायर एक्सटिङग्विशर झुन्ड्याएर राखिएका देखिन्छन् । तर, तिनले परेका बेला काम गर्छन् कि गर्दैनन्, तिनका म्याद गुज्रिइसकेका छन् कि छैनन् भन्ने कुनै सोधखोज हुँदैन । जसका कारण आगलागी भएमा तत्काल नियन्त्रण गर्न कठिन हुने स्थिति छ ।
देशको प्रमुख प्रशासनिक भवन भएकाले यहाँ जुन बेला पनि, जोखिम वा विपत्ति आइलाग्न सक्छ भनेर तयारी अवस्थामा रहनुपर्ने हो । तर तयारी शून्यप्रायः छ । कतिसम्म भने प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय सहित केही नयाँ भवनमा फायर अलार्म तथा स्मोक डिटेक्टर रहे पनि अरू भवनमा यस्तो केही सुविधा छैन ।
“धुँवा आउनासाथ साइरन बज्ने सिस्टम कुनै ठूलो खर्च लाग्दैन । खानेपानी मन्त्रालयको एउटा कोठा जल्दा पनि बिहान बल्ल थाहा पाइयो । यदि त्यो ठाउँमा कुनै प्राविधिक तरिकाबाट साइरन सिस्टम राखिदिएको भए, अलिकति धुँवा आउनासाथ साइरन बजथ्यो र सम्बन्धित मन्त्रालयका वा त्यो वरिपरि रहेका सुरक्षामा खटिएकाहरूले तुरुन्त त्यो निभाउन सक्थे । अहिले सिंहदरबारमा ढोका ढोकामा एउटा दुईटा सिलिन्डर छ । जस्तो पूर्वाधार समितिमा आउँदा पनि अगाडिको ढोकाको भित्तामा दुइटा सिलिन्डर छ । त्यस्को डेट एक्सपाइर पनि भइसकेको छ”, पूर्वाधार समितिका सभापति दीपक सिंहले बताउनुभयो ।
देशकै प्रशासनिक मुख्यालय सिंहदरबारका महत्त्वपूर्ण दस्तावेज रहने मन्त्रालयका सबै भवनमा स्मोक डिकेक्टर नहुनु तथा त्यहाँ फायर फाइटर युनिट नहुनुले कुन बेला अझ ठुलो दुर्घटना हुन्छ भन्न सकिँदैन ।
सिंहदरबारभित्रका भवनहरूको विपद् व्यवस्थापन पूर्वाधार कस्तो छ भन्ने कुरा यसको जिम्मा पाएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई समेत थाहा छैन । आगो निभाउन सिंहदरबारभित्र दमकलको व्यवस्था छैन । दमकल स्थानीय स्तरमै हुने भएकाले सिंहदरबारभित्र सम्भव नहुने कार्यालय बताउँछ । तर, भवनहरूको विद्युतीय वायरिङ तथा एक्सटिङग्विशरको अवस्था हेर्ने जिम्मा सम्बन्धित कार्यालयहरूकै भएकाले आफूलाई जानकारी नहुने संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको भनाइ छ । अझ विपद् प्रतिकार्यका लागि कस्ता सामान उपलब्ध छन्, भन्नेनै कार्यालयलाई थाहा छैन ।
“नयाँ बिल्डिङ बनाउँदै छौं भने कोडल प्रोभिजन अनुसार कस्तो तल्लाको, कति अकुपेन्सी भएको कस्तो बिल्डिङमा के बनाउनुपर्छ फायर सेफ्टीका लागि भन्ने त्यो सबै कोडले भनेको छ । गृह मन्त्रालयमा फायर फाइटिङको सिस्टम, पाइप लाइनको सिस्टमहरू चाहिँ राख्नुपर्ने थियो । नयाँ बनेको रेट्रोफिट भएको पीएम कार्यालयमा त्यो सबै सिस्टम राखिएको छ जस्तो लाग्छ । पुरानो बिल्डिङमा त्यो सबै छ जस्तो लाग्दैन । अब क्रमिकरूपमा हामीले सुधार गर्दै लैजानुपर्ने हुन्छ”, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सीडीई गणेश कर्मचार्यले बताउनुभयो ।
शनिबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीले सिंहदरबार विपद्को हिसाबले कतिको जोखिममा छ भन्ने प्रस्ट पार्छ । सिंहदरबार लगायत संरचनामा ठूला विपद्का घटना भइहाले कसरी प्रतिकार्य गर्ने भन्ने पनि स्पष्ट तयारी छैन । यस्ले हाम्रो संयन्त्र कति कमजोर छ भन्ने देखाउँछ । कतिसम्म भने राज्यका निकायहरू एक अर्कालाई देखाएर पन्छिने गरेका छन् । भोलि यस्तो ठूलो घटना भइहाले यसको जिम्मा कस्ले लिने ?