झापामा रोकिएन हात्तीको उपद्रो

माघ २६, २०८१ |गणेशमान मुखिया
झापामा रोकिएन हात्तीको उपद्रो

झापा । पूर्वपश्चिम राजमार्गमा पर्ने रतुवा माई बृक्षरोपण आयोजनाको जंगल क्षेत्रमा जंगली हात्तीको उपद्रो बढेको छ । राजमार्गबाट दक्षिणमा रहेको झापाको शिव सताक्षी नगरपालिका र कमल गाउँपालिकामा पछिल्लो तीन वर्षदेखि हात्तीको जगजगी बढेको हो । सताक्षी नगरपालिकामा ३ र कमल गाउँपालिकामा ३ गरि ६ जनाको हात्तीको आक्रमणमा परि ज्यान गएको छ । 

उत्तरको जंगलबाट सम्साझैं गाउँ छिरेको हात्तीले मध्यरातमा शिवसताक्षी नगरपालिका ८ सम्झना चौकका राजेन्द्र लिङ्देनको झण्डै ज्यान लियो । जसोतसो भागेर उहाँको ज्यान जोगियो । 

अर्का छिमेकीको पनि घर भत्काएर हात्तीले धान खाइदियो । ठूलो शरीर भएको जन्तु, जंगलमा पेट भर्ने खाद्यान्न नभएकाले बस्ती पस्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । धान, चामल, नुन लगायत मादक पदार्थ वढी मन पराउने भएकोले त्यस्ता घरहरू हात्तीको निशानामा पर्ने गरेका छन् ।

झापाको पूर्वोत्तर बाहुण्डाँगीमा परेड खेल्ने जंगली हात्तीको जगजगी अहिले शिवसताक्षी र कमल गाउँपालिकामा सुरु भएको छ । दैनिकजसो रातको समयमा बस्ती पसेर हात्तीले उपद्रो मच्चाउने गरेको छ । शिवसताक्षीमा ३ र कमलमा ३ जनाको हात्तीको आक्रमणमा परेर ज्यान लिइसक्यो भने धेरै घाइते भएका छन् । साँझ परेसँगै यहाँका बासिन्दामा त्रास बढ्न थाल्छ । जिउधनको रक्षाको लागि नगरपालिकाले साँझमा सचेतनाको लागि माइकिङ् गर्ने गर्दछ ।

रतुवामाई वृक्षारोपण आयोजनाको जंगल क्षेत्र २७ सय ५३ हेक्टर छ । यस क्षेत्रमा अहिले ३ वटा हात्ती छन् । जंगलमा रहेका हात्तीको चरिचरन क्षेत्र अपुग भएसँगै मानववस्तीमा प्रवेश गर्ने क्रम बढेको स्थानीयको बुझाइ छ ।


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement