पोखरा-मुग्लिङ सडकखण्ड : म्याद थप्दा पनि सन्तोषजनक छैन भौतिक प्रगति

पुस २६, २०८१ |प्रताप राना
पोखरा-मुग्लिङ सडकखण्ड : म्याद थप्दा पनि सन्तोषजनक छैन भौतिक प्रगति

तनहुँ । पटक पटक म्याद थप गर्दा पनि पृथ्वी राजमार्ग अन्तर्गत पोखरा-मुग्लिङ खण्डको सडक विस्तारको काम सम्पन्न हुन सकेको छैन । तोकिएको समयमा काम पूरा हुन नसक्दा यात्रुलाई गन्तव्यमा पुग्न निकै कठिन हुने गरेको छ ।

आँबुखैरेनी-जामुने र जामुने-पोखरा गरी दुई खण्डमा सडक विस्तार चलिरहेको छ । तर विस्तारको काम अत्यन्त ढिला हुँदा यात्रुलाई निकै सास्ती छ ।

आँबुखैरेनी-जामुने खण्डको सम्झौता अनुसार गत वैशाखमै निर्माणसम्पन्न गर्नुपर्ने हो । तर बल्ल हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ । चार लेनको सडक विस्तार भइरहँदा ६९ किलोमिटरमा दुई लेन कालोपत्र भएको छ । अझै डुम्रे, छिर्कन र दमौली आसपास ६ किलोमिटर कालोपत्रे गर्न बाँकी छ ।

६ अर्ब २१ करोड लागतमा चिनियाँ कम्पनी चाइना कम्युनिकेशन कन्स्ट्रक्शनले निर्माणको जिम्मा पाएको यो खण्डमा दुई पटक म्याद थप भइसकेको छ ।

यता जामुने-पोखरा खण्डको विस्तार र स्तरोन्नतिको भौतिक प्रगति पनि कछुवा गतिमा छ । यस खण्डमा अहिलेसम्म साढे ३८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । चार लेनको साढे ३८ किलोमिटर सडक स्तरोन्नति गर्नुपर्ने साढे २४ किलोमिटर एकतर्फी मात्र कालोपत्रे भएको छ । यस खण्डको विस्तार चिनियाँ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्शनले ७ अर्ब ४० करोड रुपैयाँमा गरिरहेको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरालाई काठमाडौं सहित पूर्वी तराईसँग जोड्ने मुख्य सडक तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म ८१ किमी खण्ड चार लेनमा विस्तार गरिनेछ ।


Image

प्रताप राना

राना कान्तिपुर टीभीका तनहुँ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement