काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालका हिमालले जलवायु परिवर्तनको प्रभाव विरुद्ध सुरक्षा कवज भएर प्रकृति र संस्कृतिको रक्षा गरिरहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा मन्त्री शाहीले नेपालका हिमाल जलवायु परिवर्तनको चपेटामा परेको बताउनु भयो ।
वन अतिक्रमण, फडानी, मानव वन्यजन्तु द्वन्द्व, भौतिक संरचना निर्माण, वन्यजन्तुका चोरी निकासीले हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणाली र दिगो विकासमा चुनौती बन्दै गएको उहाँको भनाइ थियो । मन्त्री शाहीले हिमाल संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोगको आह्वान पनि गर्नु भयो ।
जलवायु परिवर्तनको विश्वव्यापी मुद्दामा सांसदहरूले पनि चासो दिन थालेका छन् । राष्ट्रिय सभाकी सांसद अन्जान शाक्यले जलवायु परिवर्तनको असर रोक्न र हिमाल संरक्षण गर्न नेपालले प्रमाण जुटाउनु पर्ने बताउनु भयो । प्रमाणका आधारमा मात्रै नेपालले क्षतिपूर्ति लिन सक्ने जिकिर गर्नु भयो ।
इसिमोडका महानिर्देशक पेमा गेम्टोसले हिमाल संरक्षणको नेतृत्व नेपालले गर्नु पर्ने बताउनु भयो । नेपालका लागि बेलायतका राजदूत रोव फेन र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक हाना हेम्डीले पनि नेपालको प्रयासको प्रशंसा गर्दै थप नेतृत्वदायी भूमिका खेल्न सुझाव दिनु भयो । नेपालका हिमाल संरक्षणमा सबैको साथ रहने उहाँहरूको भनाइ थियो ।