काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखरा लगिँदै छ । पर्साको वीरगन्जमा बयान सकिएपछि उनलाई विमान मार्फत काठमाडौं हुँदै पोखरा लगिँदै छ ।
मंगलबार पर्सा जिल्ला सरकारी वकील कार्यालयमा बिहान १० बजेदेखि लिइएको बयान दिउँसो २ बजे सकिएको थियो । बयानका क्रममा लामिछानेसँग ५० वटाभन्दा बढी प्रश्न गरिएको जिल्ला सरकारी वकील कार्यालयले जनाएको छ । बयान सकेर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको थियो ।
वीरगन्जस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको उजुरीमाथि अनुसन्धान गर्न लामिछानेलाई सोमबार वीरगन्ज पुर्याइएको थियो ।
जीबी राई सञ्चालक रहेको सो सहकारीका बचतकर्ताको झन्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको थियो । रकम हिनामिना विरुद्ध प्रहरीमा उजुरी परेको र छानबिन समितिले समेत रवि लामिछाने समेतको संलग्नतामा झन्डै आठ करोड रुपैयाँ गोर्खा मिडियामा लगिएको भन्दै छानबिन र अनुसन्धानका लागि सिफारिस गरेको थियो ।