धनुषा । आजदेखि विधिवत् रूपमा साताव्यापी मनाइने विवाहपञ्चमी सुरू भएको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव सुरू भएको हो ।
त्रेतायुगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव आयोजा हुँदै आएको छ । विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिन्छ । जसमा राम र लक्ष्मणको प्रतीक स्वरूपलाई जनकपुरधाम नगर दर्शन गराइन्छ ।
यसका लागि जनकपुरधामको प्रमुख धार्मिकस्थल जानकी मन्दिरमा विशेष तयारी गरिएको छ । जानकी मन्दिरमा कृत्रिम बजार बनाइने र त्यही बजारमा राम र लक्ष्मणलाई घुमाउने कार्यक्रम रहेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनु भयो । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिमा मनाइने सीताराम विवाहको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर, छैठौं दिन विवाह उत्सव र अन्तिम दिन रामकलेवा मनाउने चलन रहेको छ ।
जनकपुरधामको प्रमुख उत्सव विवाहपञ्चमीलाई भव्य र सभ्य बनाउन जानकी मन्दिर, प्रदेश र स्थानीय सरकार लगायत विभिन्न संघ संस्था लागिपरेका छन् ।