गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रूपमा हुन्छ : मन्त्री पाण्डे

मंसिर ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रूपमा हुन्छ : मन्त्री पाण्डे

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । सिद्वार्थ उद्योग वाणिज्य संघ रूपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले शंका व्यक्त गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता जनाउनु भएको हो ।

नेपालकै मध्यभागमा रहेको र बुद्ध जन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले यस विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने मन्त्री पाण्डेले बताउनु भयो । उहाँले विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि आफू महिनामा दुई पटक आउने समेत प्रतिबद्धता जनाउनु भयो । “महिनामा दुई पटक विमानस्थलकै लागि भैरहवा आउनेछु”, उहाँले भन्नुभयो, “संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔं भन्नेमा लागेको छ । मेची महाकालीको बीचमा रहेको स्थल, लुम्बिनी र पोखरा समेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौं ।”

मन्त्री पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवा अब पर्यटनको केन्द्रबिन्दु हुने पनि बताउनु भयो । उहाँले विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालयहरू स्थापनाका लागि साउनमै निर्णय भएको र काठमाडौं फर्केर प्रधानमन्त्रीस्तरीय बैठक बसी कार्यान्वयन गरिने उद्घोष पनि गर्नु भयो ।

उहाँले विमानस्थलसँग सम्बन्धित तत्काल गर्नुपर्ने काम तथा प्राविधिक र दिगो रूपमा गर्नुपर्ने कामहरूलाई सूचीबद्ध गर्ने समेत बताउनु भयो । यस्तै भैरहवाको विमानस्थल सञ्चालन भएकाले अब पोखराको विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने विश्वास दिलाउनु भयो ।

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहनु भएका मन्त्री पाण्डेले कोषले द्रुत गतिमा काम गर्नुपर्ने सुझाव स्वीकार गर्दै आगामी दिनमा त्यसका कमीकमजोरी सुधार गरेर जाने बताउनु भयो । उहाँले होटल, गुम्बा र स्थानीयहरूका बीचमा देखिएको विवादले काम गर्ने वातावरण नबनेको बताउदै द्वन्द्वको मध्यस्थताका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गर्नु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.