काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीला बल्लभ अधिकारीलाई दुई दिन हिरासतमै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
विराटनगरमा पक्राउ परेका अधिकारीलाई काठमाडौं ल्याइएको थियो । प्रहरीले आज बिहान अधिकारीलाई निवासबाटै पक्राउ गरेर विराटनगरबाट हवाईजहाजमार्फत काठमाडौं ल्याइपुर्याएको हो ।
अधिकारीले कोशी प्रदेशका मुख्यमन्त्री र आफ्नो पार्टी नेकपा एमालेलाई समेत कुनै जानकारी नदिई फर्जी कागजात बनाइएका तीन जना व्यक्तिसहित जापान जानु भएको थियो । जापानबाट उहाँसहित चारै जनालाई विमानस्थलबाटै नेपाल फर्काइएको थियो ।
पक्राउ परेका अधिकारीले नै ‘आफू गिरोहको चंगुलमा परेर’ जापान गएको भन्दै गल्ती स्वीकार गरिसक्नु भएको छ । गिरोहको चलखेलका विषयमा आफू हङकङ पुगेपछि मात्र थाहा पाएको र जापान पुगेपछि नेपाल प्रहरीलाई खबर गरेको उहाँको जिकिर छ ।
तर जापानको अध्यागमनले प्रवेश नदिएपछि मात्रै नेपाल प्रहरीलाई यसबारे अधिकारीले जानकारी गराएको आशंका छ । आफूलाई प्रयोग गरेर मानव तस्करी भएको थाहा पाएपछि जापानबाटै फर्किएको उहाँको दाबी छ ।
जापानबाट फर्काइएका तीन जनामध्ये शेर्पासँग खोटाङको ऐंसेलुखर्क–२ को वडा सदस्यको नक्कली परिचयपत्र थियो भने देवकोटा र राईले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारीको परिचयपत्र बोकेका थिए । कर्मचारीको परिचयपत्रमा ‘निमित्त कार्यालय प्रमुख’ का रूपमा अधिकारीकै हस्ताक्षर छ । नक्कली परिचयपत्र प्रहरीले बरामद गरिसकेको छ ।
यो घटना बाहिर आउनसाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिनु भएको थियो भने नेकपा एमाले कोशी प्रदेश कमिटीले उहाँलाई पार्टीका कुनै पनि भूमिकामा नरहनेगरी निलम्बन गरिसकेको छ ।