‘सिधाकुरा’ अनलाइनका सञ्चालक कँडेल र सम्पादक ढुंगानालाई ३/३ महिना कैद [पूर्णपाठसहित]

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘सिधाकुरा’ अनलाइनका सञ्चालक कँडेल र सम्पादक ढुंगानालाई ३/३ महिना कैद [पूर्णपाठसहित]

काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकममा ‘डार्क फाइल’ भनेर प्रसारित सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा तीन जनालाई जेल सजाय हुने फैसला गरेको छ ।

सर्वोच्चको ९ सदस्यीय बृहत् पूर्ण इजलासले फेक अडियो बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन तथा प्रसारण गर्ने सिधाकुरा अनलाइनका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन/तीन महिना कैद सजाय सुनाएको हो ।

सिधाकुरा अनलाइनको हकमा भने ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । अनलाइनले आफैं क्षमायाचना गरेमा ५ हजार जरिवानाको सजाय मिनाहा हुने फैसलामा उल्लेख छ । सिधाकुराका सञ्चालक र सम्पादकलाई लिखित निवेदन दिएर प्रसारित सामग्रीमा क्षमायाचना गरेमा तोकिएको सजाय घटाएर ७ दिन कायम हुने उल्लेख छ । तिमल्सिनाको हकमा भने तोकिएको सजाय भुक्तान गर्नुपर्नेछ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेशशर्मा पौडेल र बालकृष्ण ढकाल रहेको बृहत् पूर्ण इजलासले मुद्दाको किनारा लगाएको हो ।

सिधाकुराले तयार पारेको अडियो सामग्री भ्रामक र असत्य भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएपछि त्यसकै आधारमा जिल्ला सरकारी वकिल कार्यालयले तिमल्सिना, कँडेल र ढुंगानाविरुद्ध साइबर अपराधसहित तीन कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भइसकेको छ । यसमा अदालतले तीनै जनालाई धरौटीमा रिहा गरेको छ ।

हेर्नुहोस् पूर्णपाठ :- 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.