इन्टेकमा रुख ढल्दा ८६ मेगावाटको सोलुदूधकोशी जलविद्युत आयोजनाको उत्पादन बन्द

आश्विन १३, २०८१ |भानुभक्त निरौला
इन्टेकमा रुख ढल्दा ८६ मेगावाटको सोलुदूधकोशी जलविद्युत आयोजनाको उत्पादन बन्द

सोलुखुम्बु । सोलुखोलाको पानीबाट उत्पादित ८६ मेगावाट क्षमताको सोलुदूधकोशी जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।

विगत ३ दिनदेखिको अविरल वर्षा सँगै आएको बाढीले उक्त जलविद्युत आयोजनको बाँध स्थलमा क्षति पुर्‍याउँदा शनिबार दिउँसोदेखि नै विद्युत उत्पादन ठप्प भएको हो ।

साहास ऊर्जा लिमिटेडबाट प्रवर्धित विद्युत आयोजनाको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ११ तिंलाको भदौरेमा रहेको बाँध स्थलमा रुख ढल्नुका साथै लेदो पसेपछि आयोजना बन्द भएको कम्पनीका अध्यक्ष हिम पाठकले जानकारी दिनुभयो । इन्टेकमा ठूलो रुखहरु झरेका र रुख हटाउनका लागि एक्स्काभेटरहरु परिचालन गरेको अध्यक्ष पाठकको भनाइ छ ।

भदौरेबाट सुरुङमार्ग हुँदै सोलुखोलाको पानी थुलुङदूधकोशी- ३ पंचनको मैकुबेसीमा दूधकोशी खोलाको किनारमा खसाएर विद्युत उत्पादन गरिएको हो । सुरुङ मार्ग र पावर हाउस भने बाढी पहिरोबाट सुरिक्षत रहेको आयोजनाले जनाएको छ ।

उक्त विद्युत लाम्माने स्थित १३२ केभी सोलुकरिडोरमा जोडिएको छ ।


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।