धादिङमा पहिरोले दुई जना पुरिए, खोलाले बगाएर एक जना बेपत्ता

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
धादिङमा पहिरोले दुई जना पुरिए, खोलाले बगाएर एक जना बेपत्ता

धादिङ । लगातारको अविरल वर्षापछि खसेको पहिरोले धादिङमा २ जना पुरिएका छन् भने खोलाले बगाएर एक बालिका बेपत्ता भएककी छन् ।

लगातार वर्षा भइरहेको बेला स्थानीय मलेखु खोलामा माछा मार्न गएका बेनिघाट रोराङ गाउँपालिका-६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ खोला बढेपछि नजिकै रहेको ओढारमा ओत लाग्ने क्रममा पहिरो खस्दा पहिरोमा परेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डीएसपी डिल्लीराज पाण्डेले बताउनु भएको छ ।

नदीमा माछा मार्न जान लागेका उनीहरु निरन्तरको वर्षाका कारण गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाडाँमा रहेको ओडारमा बस्दा पहिरोले पुरिएका हुन् । पहिरोले पुरिएकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले पहिरो पन्छाएर खोजी गरिएको भए पनि नभेटिएछि उद्धार टोली शनिबार बिहानबाट खोजीलाई निरन्तरता दिने गरी फर्किएको छ ।

यता धादिङको गजुरी गाउँपालिका- ७ र ८ को बीचमा पर्ने घट्टे खोलाले बगाउँदा दोभान खर्ककी ६ वर्षीया सइरा तामाङ बेपत्ता भएकी छिन् । खोलाले बालिकासहित उनकी हजुरआमा ठूलीमाया तामाङ र मोटरसाइकल चालक स्थानीय राजकुमार तामाङलाई पनि बगाएकोमा उनीहरु भने पौडिएर बाच्न सफल भएका हुन् ।

मोटरसाइकलसहित बालिकालाई खोलाले बगाएको वडा-८ का वडाध्यक्ष देवराज ओझाले बताउनुभयो । घाइते अवस्थामा पौडिएर बाँचेका दुवै जनालाई उपचारको लागि आदमघाट सामुदायीक अस्पतालमा पठाइएको छ ।

बेपत्ता बालिकाको राति अबेरसम्म खोजी प्रयास गरे पनि फेला नपेको र खोलामा पानीको बहाब बढेका कारण अहिले खोजी कार्य स्थगित गरिएको अध्यक्ष ओझाले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement