लगातारको वर्षाले ठाउँ-ठाउँमा राजमार्ग र सडक अवरुद्ध, बाढी र पहिरोको जोखिम

झापा र दार्चुलामा गरी दुई जना बेपत्ता
सातै प्रदेशका ४१ स्थानमा वर्षाले चेतावनीको तह पार गर्‍यो
आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
लगातारको वर्षाले ठाउँ-ठाउँमा राजमार्ग र सडक अवरुद्ध, बाढी र पहिरोको जोखिम

काठमाडौं । देशका अधिकांश स्थानमा भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षाले ४१ भन्दा धेरै स्थानमा चेतावनीको तह पार गरेको छ । वर्षासँगैको बाढीको इलाममा एक जनाको ज्यान गएको छ । यस्तै झापाको जमुना खोलाले बगाउँदा एक जना र दार्चुलामा महाकाली नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका विभिन्न क्षेत्रमा मध्यमदेखि अति वर्षा भोलि पनि जारी रहने छ ।

आज कोशी, मधेश, बामगती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भएको महाशाखाले जनाएको छ । ४१ स्थानमा वर्षाले चेतावनीको तह पार गरेको छ । १२ घण्टामा झापा इलामलगायतका क्षेत्रमा अति भारी वर्षा भएको छ । झापाको अनारमढीमा २ सय ३, चन्द्रगढीमा २ सय ६० मिलिमिटर र इलाममा २ सय ४३ मिलिमिटर वर्षा मापन गरिएको छ। निरन्तरको वर्षाले कोशी प्रदेशका नदीहरूको सतह बढेको छ भने समतल भूभाग जलमग्न भएका छन् । एकनासले वर्षा भए पनि बाढी र डुबानले धनजनको ठूलो क्षति भने भएको छैन ।

काठमाडौं उपत्यकामा पनि धेरै स्थानमा भारी वर्षा भएको छ । कीर्तिपुरमा ८४ मिलिमिटर, बुढानीलकण्ठमा ६५ र अन्य क्षेत्रमा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको मौसम विभागले जनाएको छ । ललितपुरको लेलेमा १ सय १५ मिलिमिटर र गोदावरीमा ९३ दशमलब ८ मिलिमिटर वर्षा मापन गरिएको छ । निरन्तरको वर्षासँगै काठमाडौंको टेकुसहित विभिन्न क्षेत्र डुबानमा परेका छन् ।

अधिकांश नदी तथा खोलाको जलसतह बढेको छ । काठमाडौंको बागमती विष्णुमती धोबीखोला ललितपुरको कर्मनासा र भक्तपुरको हनुमन्तेमा जलसतह उच्च छ । मौसम विभागल मोबाइलमा अलर्ट पठाएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर भरिन लागेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको छ ।

इन्द्र सरोवरका बाँधको ढोका खोल्नुपर्ने अवस्था आउनसक्ने भन्दै सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीमा बाढी आउनसक्ने भएकाले सर्तक रहन अनुरोध गरिएको हो ।

भारी वर्षाको भैरहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट सतर्क रहन आग्रह गरिएको छ । तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि छ । नारायणी, कन्काइ, कमला बागमती राप्ती बबइलगायतका नदीमा आज उच्च र भोलि अति उच्च जोखिम रहने विभागले जनाएको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण पनि सार्वजनिक गरेको छ ।

यसैबीच प्रतिकुल मौसमका कारण हवाइ उडान पनि प्रभावित बनेको छ ।

भारी वर्षाका कारण विराटनगर, भद्रपुर, सिमरा, भरतपुर, पोखरा, सुर्खेत र लुक्ला लगायतका विमानस्थलमा आजका लागि तय भएका नियमित उडान रद्द गरिएको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ ।

निरन्तरको वर्षाका कारण देरभर विभिन्न राजमार्ग र सडक अवरुद्ध

देशका अधिकांश भागमा भैरहेको निरन्तरको वर्षाका कारण विभिन्न राजमार्ग र सडक अवरुद्ध भएका छन् ।

धादिङ धुनिबेसीको सिस्ने खोलामा लेदोसहितको पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । सुरुङमार्गको प्रवेशद्वार अगाडि पहिरो खसेको हो । पहिरो ठूलो भएको र लगातार लेदो सडकमा झरिरहेकाले पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । 

पहिरोका कारण राजधानी भित्रने र बाहिरिने सवारीसाधन रोकिएका छन् । पहिरो पन्छाउन समय लाग्ने भएकाले काठमाडौं प्रवेश गर्ने साना सवारी धार्के-सीतापाइला सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । सुरुङमार्गभन्दा माथि झ्याप्ले खोला नजिकै पनि पहिरो खसेको प्रहरीले जनाएको छ । 

त्यस्तै पृथ्वीराजमार्गअन्तर्गत धादिङको महादेवबेसी नजिकै ९ किलो र ४ किलोमा पनि पहिरो जाँदा सवारी आवागमन बन्द भएको छ ।

यस्तै पहिरोले हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । आज बिहान मकवानपुरको बकैया गाउँपालिका १२ घट्टेपाखास्थित कान्तिलोकपथ सडक खण्डमा वर्षाका कारण माथिबाट पहिरो आई सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् ।

निरन्तरको वर्षाले कुलेखानी बाँध भरिन लागेकाले सतर्क रहन विद्युत प्राधिकरणले आग्रह गरेको छ । बाँध केही घण्टामै भरिने स्थिति देखिएको र बाँधका ढोका खोल्नुपर्ने भएकाले बाँधदेखि तल्लो क्षेत्र सिस्नेरी हुँदै बागमती नदी किनाराका वस्तीमा एक्कासी बाढी आउन सक्ने अवस्था भएकाले उच्च सतर्कतामा बस्न प्राधिकरणले आग्रह गरेको छ ।

उता पहिरो खसेपछि अवरुद्ध भेडेटार–रबी राँके सडक भने खुलेको छ । भेडेटार र डाँडाँबजारबीच पहिरो खसेपछि सडक दिनभर अवरुद्ध भएको थियो ।

यस्तै बिपी राजमार्गको कालाढुङ्गा स्थित भ्याखुरे खोलामा बाढी आउँदा सडक फेरि अवरुद्ध भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement