सहकारी ठगीमा पक्राउ परेका छविलाल जोशीलाई अनुसन्धानका लागि सात दिन म्याद थप

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगीमा पक्राउ परेका छविलाल जोशीलाई अनुसन्धानका लागि सात दिन म्याद थप

पोखरा । सहकारीको रकम ठगीको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई अनुसन्धानका लागि अदालतले थप सात दिन म्याद दिएको छ ।

गोर्खा मिडियाका पूर्वसञ्चालक जीबी राई र रवि लामिछानेका साझेदार नेपाल प्रहरीका पूर्वडिआइजीसमेत रहेका छविलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो । गत असोज ६ गते काठमाडौंमा पक्राउ गरी सोही दिन पोखरा लगिएका जोशीलाई असोज सात गते अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । जोशीलाई आज पुनः अदालतमा उपस्थित गराइएको थियो ।

सरकारी वकिल कार्यालयले आज अनुसन्धान नसकिएको भन्दै अझै १० दिन म्याद थपको समय माग गरेको थियो तर अदालतले सात दिनको समय दिएको हो । जोशीसँग सरकारी वकिलले एक दिन प्रत्यक्ष उपस्थित गराइ बयान लिइएको थियो । छानबिन समितिले सूर्यदर्शन सहकारीलगायत अन्य सहकारीको रकम साढे ६५ करोड बढी रुपैयाँ गोर्खा मिडियामा गएको निष्कर्ष निकाल्दै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, रास्वपा सभापति तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्धक निर्देशक रवि लामिछाने, गोर्खा मिडियाका सञ्चालक जीबी राई, कुमार रम्तेललाई कारबाही सिफारिस गरेको थियो ।

सोही प्रतिवेदनका आधारमा प्रहरीले जोशीलाई पक्राउ गरेको हो । कास्की प्रहरीले सूर्यदर्शन सहकारीको डेढ अर्ब रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका ४४ जना मध्ये हालसम्म छ जना मात्र पक्राउ परेका छन भने ३८ जना पक्राउ पर्न बाँकी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement