देशका २८ स्थानमा चेतावनीको तहभन्दा माथि वर्षा, प्रतिकूल मौसमले हवाई उडानसमेत प्रभावित

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
देशका २८ स्थानमा चेतावनीको तहभन्दा माथि वर्षा, प्रतिकूल मौसमले हवाई उडानसमेत प्रभावित

काठमाडौं । देशका अधिकांश स्थानमा भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षाले २८ भन्दा धेरै स्थानमा चेतावनीको तह पार गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार धेरै क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिनभर नै बदली भएर सातै प्रदेशका धेरै ठाउँमा पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौंमा बागमतीको खोकना, गौरीघाट, बल्खुको बलम्बु र विष्णुमती गोंगबु बसपार्क जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । मौसम विभागले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

कोशी प्रदेशका झापा, इलाम, मोरङ लगायतका जिल्लामा भारी वर्षा भएको छ । झापामा पछिल्लो २४ घण्टामा २ सय ९९ मिलि मिटर पानी परेको रेकर्ड भएको छ । हल्दिबारीमा तीन घर डुबानमा परेपछि विस्थापितलाई रेडक्र कार्यालयमा सारिएको छ ।

मधेश र लुम्बिनी प्रदेशका केही जिल्लामा पनि अत्यधिक वर्षाको रेकर्ड कायम भएको महाशाखाले जनाएको छ । निरन्तरको वर्षाले कोशी प्रदेशका नदीहरूको सतह बढेको छ भने समतल भूभाग जलमग्न भएका छन् । एकनासले वर्षा भएपछि बाढी र डुबानले धनजनको क्षति भएको छैन । वर्षाका कारण मोरङका अधिकांश सामुदायिक विद्यालयमा छुट्टी दिइएको छ ।

भारी वर्षाको भैरहेकाले ती क्षेत्रमा हुनसक्ने बाढी, पहिरो र डुबानको जोखिमबाट सतर्क रहन आग्रह गरिएको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि छ ।

आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण पनि सार्वजनिक गरेको छ ।

नारायणी, कन्काइ, कमला बागमती राप्ती बबइलगायतका नदीमा आज उच्च र भोलि अति उच्च जोखिम रहने विभागले जनाएको छ । मनसुनी वर्षाका कारण सात वटै प्रदेश जोखिममा रहने भन्दै गृह मन्त्रालयले आज र भोलि हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन आग्रह गरेको छ ।

 मन्त्रालयले अत्यावश्यक काम परेमा बाहेक यात्रा नगर्न पनि सर्वसाधारणलाई सुझाव दिएको छ । तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न सुझाव दिइएको छ । किसानलाई धान नकाट्न र काटिसकेको भए थन्क्याउन सुझाव दिइएको छ ।

यसैबीच प्रतिकूल मौसमका कारण हवाई उडान पनि प्रभावित बनेको छ । भारी वर्षाका कारण विराटनगर, भद्रपुर, सिमरा, भरतपुर, पोखरा, सुर्खेत र लुक्ला लगायतका विमानस्थलमा आजका लागि तय भएका नियमित उडान रद्द गरिएको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement