जलवायु परिवर्तनबाट जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो : परराष्ट्रमन्त्री राणा

आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
जलवायु परिवर्तनबाट जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो : परराष्ट्रमन्त्री राणा

वशिङ्टनडिसी : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आन्तरिक रुपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको बताउनुभएको छ ।

राष्ट्रसङ्घीय फोरम शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री राणाले नेपालको सङ्घीय संसदले हालै मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक पारित गरेर पीडितमैत्री कानून बनाएको उल्लेख गर्नुभयो । फोरमले यस वर्ष सन् २०२५ का लागि शान्ति निर्माणको मार्गचित्रको पुनःमूल्याङ्कनः समृद्धि र प्राथमिकता भन्ने शीर्षकमा बैठक आयोजना गरेको थियो ।

मन्त्री राणाले भन्नुभयो, “अहिलेको विश्वमा शान्ति निर्माणको प्रक्रिया एक जटिल विषय बन्दै गएको छ, दिगो र समाजको स्थायित्वका लागि द्वन्द्वको वास्तविक कारण पहिचान हुनुपर्दछ ।”

आगामी वर्ष सन् २०२५ को शान्ति निर्माण प्रक्रियाको अवधारणालाई पुनःमूल्याङ्कन गरेर यसलाई दिगो र सक्षम तरिकाले अगाडि बढाउन जरुरी रहेको उहाँको भनाइ थियो । मन्त्री राणाले शान्ति निर्माण कमिसनले रणनीतिक रुपमा सुरक्षा परिषद्, महासभा र इस्कोस जस्ता निकायसँग साझेदारी गरेर अगाडि बढनुपर्नेमा सुझाव दिनुभयो ।

उहाँले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल शान्तिका दूत गौतम बुद्धको जन्मस्थल भएको स्मरण गर्दै मन्त्री राणाले सकारात्मक सोच, व्यवहार र संस्कृतिको मूल्य मान्यताका आधारमा शान्ति पूर्ण र हिंसारहित समाज निर्माण ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

जलवायु परिवर्तनबाट जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीहरुको साझा घर पृथ्वीमा जलवायु परिवर्तनका कारण विगतमा कहिल्यै भोग्नु नपरेको चुनौतीहरुको सामना गर्नु परिरहेको छ, यो तत्कालै सम्बोधन हुनुपर्ने विषय हो ।”

अहिले हिमशृङ्खलामा परेको वातावरणीय असरको कारणले बाढीपहिरो तथा पूर्वाधारहरुको क्षयीकरण बढिरहेको उल्लेख गर्दै उहाँले यसलाई सम्बोधन गरेर मानवीय सङ्कट कम गर्न सबै तप्काले सहकार्य गर्न जरुरी रहेको आवश्यकता औँल्याउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement