काठमाडौं । अधिकांश व्यक्तिहरु आजकाल देशको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाप्रति चिन्ता व्यक्त गरिरहेका भेटिन्छन् । कुल जनसंख्याको ४२ दशमलब ५६ प्रतिशत अर्थात् १ करोड २४ लाखको संख्यामा रहेका युवाहरुको देशका जल्दाबल्दा एजेन्डामा फरक-फरक धारणा छन् ।
तपाईं १२ कक्षा वा स्नातक पास गरेका युवालाई उनीहरुको इच्छा के हो भनेर सोध्नुभयो भने अधिकांशको जवाफ हुन्छ-विदेश जाने । चाहे त्यो पढ्न होस् या काम गर्न । नेपालमै बसेर केही गर्ने इच्छा नभएको भने हैन । तर उनीहरु नेपालमा रोजगारी नै नपाउने र पाइहाले पनि योग्यताअनुसारको नहुने भएपछि विदेश जानुको विकल्प नहुने बताउँछन् ।
हामीले भेटेका अधिकांश युवा देशको राजनीतिक अस्थिरता र बढ्दो भ्रष्टाचारप्रति चिन्तित देखिए । राजनीति गर्नेहरुले कामभन्दा भाषण बढी गर्ने गरेको र राज्यले समेत युवाहरुमा लगानी नगरेको उनीहरुको धारणा छ । राज्यलाई कर तिरे पनि सुविधायुक्त पूर्वाधारको अभाव रहेको र सुरक्षा व्यवस्था पनि कमजोर रहेको युवाहरु बताउँछन् ।
समाज परिवर्तन र समृद्धिका लागि युवाको भूमिका महत्वपूर्ण मानिन्छ । त्यसैले युवालाई स्वदेशमै रहने वातावरण निर्माण गर्न र देश विकासमा केन्द्रित गर्ने गरी नीति बनाउन राज्यले प्राथमिकता दिनुपर्ने देखिन्छ ।