काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका १८ जना देशबाहिर रहेकाले उनीहरुलाई तत्काल नेपाल ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले गृहमन्त्री रमेश लेखकलाई बोलाएर पीडितहरुले बचत रकम अपचलन गरेको भनेर उजुरी परेका १८ जना देश बाहिर रहेकाले उनीहरुमाथि छानबिनका लागि तत्काल नेपाल ल्याउन निर्देशन दिएको हो ।
समिति सभापति सूर्यबहादुर थापाले आरोप लागेकाहरुसँग सोधपुछ गरेपछि मात्रै निष्कर्षमा पुग्न सकिने बताउनुभयो । सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राई, ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भूपेन्द्र राई, तस्बिरन खातुन, असरफ अली, सुवास केसी, भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जनलाई तत्काल नेपाल ल्याउन समितिले भनेको हो ।
यसैगरी तेजबहादुर बम्जन, देवकुमार नेपाली, छेदा नेपाली, दीपक पौडेल, लीलानाथ गौतम, प्रेमध्वज लामा र महाशंकर रेग्मी देशबाहिर रहेको जानकारी समितिले पाएको सभापति थापाको भनाइ छ ।
समितिले सहकारीको रकम दुरुपयोग गरी विभिन्न कारागारमा रहेका व्यक्तिसँग सोधपुछ गर्न गृह मन्त्रालयलाई जनशक्ति र समय व्यवस्थापन गरिदिनसमेत आग्रह गरेको छ । समितिले आजै गुण को-अपरेटिभका अध्यक्ष राजेन्द्र शाक्यलाई बोलाएर समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्न सकिने आधारबारे समेत सुझाव लिएको छ ।