ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक छ : राजेन्द्र लिङदेन

असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिङदेनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको दाबी गर्नु भएको छ ।

आइतबारको प्रतिनिधिसभाको बेठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्ताव गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष लिङदेनले अर्थमन्त्री र मन्त्रीहरुले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुशी बनाउने गरी बजेट ल्याएको बताउनु भयो । 

उहाँले मन्त्री भएर बजेट छुट्याउने पाउने मौकाको सदुपयोग गर्न मन्त्रीहरु चुकको औल्याउनु भयो । उहाँले ऊर्जा क्षेत्रले नेपालको भविष्य बदल्नसक्ने भएकाले सामान्य हिसावले खर्च भाग लगाएर र नियमति कार्यक्रमले मात्रै उपलब्धि हाँसिल गर्न नसकिने बताउनु भयो । उहाँले उर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक रहेको बताउनु भयो । 

बजेटप्रति असहमति व्यक्त गर्न मात्रै आफूहरु बजेटमाथिको छलफलमा भाग लिइरहेको अध्यक्ष लिङदेनको भनाइ थियो । ‘हामीले यहाँ जति छलफल गरेपनि संशोधन हुँदैन, परिवर्तन हुँदैन भन्नेकुरा सबैलाई थाहा छ । खालि रेकर्डका लागि बजेटप्रति असहमति व्यक्त गर्न मात्रै हामी यहाँ उभिएका छौँ,’ उहाँले भन्नु भयो ।

सन्तुलन मिलाउन नसक्दा अहिले लोड सेडिङ भइरहेको उहाँको भनाइ छ । विदेशीको हातमा आयोजना राख्न दिने भन्दा पनि आफ्नै लगानीबाट नेपालमा ऊर्जाको उत्पादन गर्न आवश्यक रहेको अध्यक्ष लिङदनेले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.