यार्चा संकलकले भरिए डोल्पाका पाटन

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
यार्चा संकलकले भरिए डोल्पाका पाटन

डोल्पा । यार्चा संकलनका लागि हजारौँ मानिस यतिबेला हिमाली जिल्ला डोल्पा पुगेका छन् ।

रुकुम, जाजरकोट, सल्यान, जुम्लासँगै देशका विभिन्न जिल्लाबाट बहुमूल्य जडीबुटी यार्चा खोज्न मानिसहरु डोल्पाका पाटन पुग्ने क्रम चलिरहेको छ । विगतका वर्षको तुलनामा यो वर्ष दोब्बर मानिस डोल्पा पुगेको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताउनुभयो ।

जेठ ११ गतेसम्मको तथ्यांकअनुसार शे-फोक्सुन्डो निकुञ्ज क्षेत्रमा मात्रै सात हजारभन्दा बढी यार्चा संकलक पुगेका छन् । यकिन तथ्यांक नआए पनि जिल्लाका सामुदायिक वनमा १० हजारभन्दा धेरै मानिस यार्चा संकलन गर्न पुगेको वन कार्यालय डोल्पाका रेन्जर गगन महताराले जानकारी दिनुभयो ।

ठाउँठाउँका मानिस डोल्पाका पाटन पुग्ने क्रम जारी रहेको र जिल्लाको दुर्गम भूगोलका कारण यकिन तथ्यांक संकलन भइनसकेको महताराले बताउनुभयो । यार्चा संकलन गरेर कमाउने आशामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म डोल्पा पुगेका छन् ।

सडक पुग्ने ठाउँसम्म गाडी रिजर्भ गरेर गएका यार्चा संकलकहरू त्यहाँबाट बन्दोबस्तीका सामान बोकेर पाटनतर्फ लाग्ने गरेका छन् ।

जिल्ला बाहिरका संकलकका लागि प्रतिव्यक्ति तीन हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ भने जिल्लाका नागरिकले प्रतिव्यक्ति दुई हजार रुपैयाँ तिर्नुपर्छ । शे-फोक्सुन्डो निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले भने जनही पाँच सय रुपैयाँ तिरे पुग्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.