काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलमै पुगेर स्वागत गर्नुहुने भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार राजकीय दुईदिने भ्रमणका लागि भोलि (मंगलबार) बेलुका नेपाल आउन लाग्नुभएका कतारी राजा थानीलाई विमानस्थलमै पुगेर राष्ट्रपतिले स्वागत गरे पनि औपचारिक भेट भने शीतलनिवासमा हुनेछ ।
कतारी राजाको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजनासमेत गर्ने कार्यक्रम छ । उहाँ पहिलोपटक नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।
त्रिभुवन विमानस्थलको उडान-अवतरण आधा घण्टा रोकिने
यसैबीच कतारी राजा नेपाल आउने समयमा करिब आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान-अवतरण रोकिने भएको छ । विमानस्थलका अनुसार थानी चढेको विमान अवतरणको १५ मिनेटअघि र अवतरणपछिको १५ मिनेटसम्म अन्य जहाजको उडान-अवतरणमा रोक लगाइनेछ ।
नेपालमा मंगलबार सार्वजनिक बिदा
सरकारले कतारी राजाको नेपाल भ्रमणका अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसँग कतारी राजाले बुधबार द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय छ । भेटका क्रममा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमण सकेर कतारी राजाको बुधबार फर्कने कार्यतालिका छ ।
कतारका राजाको भ्रमणका क्रममा नेपाल सरकारले कतारलाई दुईवटा हात्ती उपहार दिनेसमेत तयारी गरेको छ ।
यो पनि...
कतारलाई उपहार दिन लागिएका हात्ती कस्ता ?
कतारी राजाको भ्रमणमा सार्वजनिक बिदा
कतारका राजा नेपाल भ्रमणमा आउँदा सरकारले एक जोडी हात्ती उपहार दिने
दुईदिने भ्रमणमा आउँदै कतारी शेख, नेपाली श्रमिकका विषयमा छलफल हुने