भक्तपुर । बिस्का जात्राको आठौं दिन आज भक्तपुर नगरमा द्यो स्वगं पूजा (सगुन पूजा) गरिएको छ ।
भक्तपुरमा बिहानैदेखि धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरुले नगरका शक्तिपिठ तथा देवी देवताहरुको परिक्रमा गरी सगुन पूजा गरिएको हो ।
जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोसाक हाकु-पटासी र दौरा सुरुवालमा सजिएर जात्रामा सहभागी भएका छन् । हिजो देवी-देवतालाई सगुन पूजा गर्न आ-आफ्ना द्यो छें (देव घर) बाट निकाली चोक तथा डबलीमा राखिएको थियो ।
जात्राका क्रममा सहभागीहरुले ती देवी-देवतालाई आ-आफ्ना गच्छेअनुसारका अन्न, मिठाई, रोटीलगायत परिकार चढाएका थिए ।