कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात

माघ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात

काठमाडौं । उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भएको छ । गए रातिदेखि मौसममा बदली भई भारी हिमपात भएको हो । यो यस वर्षको दोस्रो हिमपात हो ।

हुम्ला, दार्चुला, अछाम, जुम्ला लगायत जिल्लामा हिमपात भइरहेको छ । हिमपात भएसँगै उच्च हिमाली जिल्लाहरुमा अत्यधिक चिसो बढेर तापक्रम माइनस ४ डिग्रीमा झरेको छ । चिसोले हुम्लाको जनजीवन प्रभावित भएको छ । हिमपातले हुम्लाको एक मात्र हवाई सेवा पनि अवरुद्ध भएको छ । हुम्लाका उत्तरी क्षेत्र नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका सबै क्षेत्रमा भारी हिमपात भएको छ भने दक्षिणी क्षेत्रकासर्केगाड, चंखेली, अदानचुली र तांजाकोट गाउँपालिकाका लेकतिर हिमपात र बेसीतिर बर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसान हिउँ पर्न थालेपछि हर्षित भएका छन्। हिउँदे वर्षा र हिमपातले पशुपालनलाई असर गरे पनि बालीनालीको उत्पादनमा सहयोग पुग्छ । माथिल्लो, मध्य र तल्लो तीन भागमा बाँडिएको हुमलाको माथिल्लो, मध्ये क्षेत्रका सबै गाउँलगायत स्थानमा बढी हिमपात भएको छ। बाक्लो हिउँका कारण उत्तरी हुम्लाको जनजीवन कष्टकर बनेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

यसैगरी, दार्चुलाको ब्यास लगायत लेकाली भेगहरूमा हिमपात भएको छ । ब्यास गाउपालिका-१ छाङरू र तिंकरमा हिमपात हुन सुरु भएको स्थानीयले बताएका छन् । हिमपातले किसान खुसी भएका छन् । यसैगरी जुम्लामा पनि हिउँ परेको छ ।

उता, सुदुरपश्चिमको पहाडी जिल्ला अछाममा अबस्थित रामारोशनमा हिउसँग रमाउनेहरुको भीड लागेको छ । बुधवार रातिबाट सुदुरपश्चिमका पहाडी भेगमा पानी सँगै हिमपात भइरहेको छ । रामारोशनमा हिउँ वर्षिएकाले बिहीबार बिहानैदेखि हिउँ खेल्नेहरुको भिडभाड बढेको रामारोशन पर्यटन विकास समितिका अध्यक्ष गोपीप्रसाद खनालले बताए । वर्षासँगैको पानीले जनजीवन कष्टकर बने पनि लामो समयको अन्तरालपछिको पानीले खेती सप्रने भन्दै कृषक भने खुसी भएको छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा, कर्णाली प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षासहित हल्कादेखि मध्यम हिमपात भइरहेको छ । साथै देशका मध्य तथा पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सु समेत लागेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.