ललितपुर । ललितपुर महानगरपालिकाले एलएमसी अलर्ट मोबाइल एप सञ्चालनमा ल्याएको छ।
विहीबार महानगर प्रमुख चिरिबाबु महर्जनले एपको शुभारम्भ गरेका हुन् । महानगरले ल्याएको मोबाइल एप विशेषगरी महानगर प्रहरीलाई छिटो सूचना दिनका लागि बनाइएको महानगरले जनाएको छ । यो एप विशेष गरी अलर्ट र गुनासो पठाउनका लागि प्रयोग गर्न सकिनेछ ।
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले भने, 'यस एफ मार्फत महानगर क्षेत्रभित्र कुनै पनि समस्या, विपत्ति वा गुनासो भएमा एप खोलेर तीन पटकको ट्यापमा आफ्नो सन्देश सिधै नगर प्रहरीको कन्ट्रोल रूमसम्म पठाउन सकिनेछ ।'
दमकल, एम्बुलेन्स, शववाहन चाहिएमा पनि एप मार्फत नै सन्देश पठाउन सकिन्छ । त्यस्तै, कतै ढल फुटेको वा बिग्रिएको भेटिएमा, सडक बत्ती बिग्रिएको देखिएमा पनि एपमार्फत सूचना दिन सकिने महानगरले जनाएको छ । मेयर महर्जनले एप माफर्त महानगरले छिटोभन्दा छिटो गुनासो सम्बोधन गर्ने जनाएका छन् । त्यस्तै, कालो बजारी भइरहेको देखिएमा, बिना स्वीकृति संरचना निर्माण भएको बारे, फुटपाथमा व्यापार गरेको, अनधिकृत विज्ञापन गरेको, सार्वजनिक जग्गा हडपेको देखिएमा पनि एपमार्फत नै गुनासो गर्न सकिनेछ ।