बारा । बाराको सीमावर्ती क्षेत्रका नेपाली तथा भारतीय नागरिकले दशगजा अतिक्रमण गरेर खेती गरेका छन् । बाराको विश्रामपुर र फेटा गाउँपालिकासँग जोडिएको साढे आठ किलोमिटर दशगजा क्षेत्रमा नेपाली र भारतीयले दशगजा अतिक्रमण गरेर खेती गरेका हुन् ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार दशगजा क्षेत्रको ३० फिट जमिनमा कुनै किसिमको भौतिक पूर्वाधार निर्माण तथा खनजोत गर्न नहुने प्रावधान छ । तर विश्रामपुर गाउँपालिकाको सीमानामा रहेको ३८८ नम्बर सहायक पिलरदेखि पूर्व र पश्चिमको जग्गा नेपाली तथा भारतीयले अतिक्रमण गरेर वर्षौंदेखि खेती गर्दै आएका छन् ।
बीओपी बरैनियाअन्तर्गत पर्ने साढे आठ किलोमिटर खुला सिमाना रहेको यस क्षेत्रमा मुख्य पिलर ४, सहायक पिलर २१ र सानो पिलर ५४ वटा कुल ७९ वटा पिलर छन् । तीमध्ये १४ वटा पिलर हराएको बीओपी बरैनियाले जनाएको छ ।