कान्तिपुर टेलिभिजनको समाचार प्रमुखमा विजय पौडेल नियुक्त

पुस १७, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर टेलिभिजनको समाचार प्रमुखमा विजय पौडेल नियुक्त

काठमाडौं । कान्तिपुर टेलिभिजनको समाचार प्रमुखमा विजय पौडेल नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आज उनलाई समाचार प्रमुख पदमा नियुक्त गरेका हुन् ।

नियुक्तिसँगै पौडेलले पदभारसमेत ग्रहण गरेका छन् । जिम्मेवारी सम्हाल्दै पौडेलले टेलिभिजन पत्रकारितालाई पुनर्परिभाषित गर्न आवश्यक भएको बताए ।

कान्तिपुर टेलिभिजनसँग पत्रकारिता र मिडियासामु आएका चुनौती सामना गर्ने सामर्थ्य रहेको जिकिर गर्दै जीवन झल्किने समाचारलाई टेलिभिजनले प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । ‘मिडियासामु चुनौतीहरु धेरै आएका छन् । त्यसलाई सामना गर्नुपर्ने सामर्थ्यका साथ अघि बढ्ने बेला आएको छ,’ उनले भने, ‘सबैको हातेमालोबाट यो सम्भव पनि छ ।’

समाचार विभागमा नवनियुक्त समाचार प्रमुखलाई स्वागत गर्दै कार्यकारी प्रमुख शिशिर पछाईंले पौडेलको नेतृत्वमा कान्तिपुर समाचारले थप परिपक्वता हासिल गर्ने र विश्वसनीयता स्थापित गर्ने विश्वास व्यक्त गरे ।

पौडेल यसअघि पनि दशकभन्दा बढी समय कान्तिपुर टेलिभिजनमै कार्यरत थिए । उनले कान्तिपुर टेलिभिजनमा ‘सरोकार’ कार्यक्रमसमेत सञ्चालन गर्थे । जुन अझै पनि लोकप्रिय कार्यक्रममध्ये पर्छ ।

साढे दुई दशकअघि सगरमाथा एफएमबाट पत्रकारिता सुरु गरेका पौडेलसँग च्यानल नेपाल, एपीवान टेलिभिजन, इमेज च्यानल, नेपाल लाइभ अनलाइनमा सम्पादकीय नेतृत्वमा रहेर काम गरेको अनुभव छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.