बाजुरा । बाजुराको पूर्वी-उत्तरी भेकको र तल्लो क्षेत्रका लेकाली क्षेत्रमा हिमपात सुरु भएको हो । आइतबार रातिबाट भएको मौसम बदली र वर्षासँगै जिल्लामा हिमपात सुरु भएको हो ।
हिमपातका कारणले बिच्छ्याँ, रुगिन, बाँधु, अम्लिस काँडाका बासिन्दा प्रभावित भएका छन् । हिमाली, स्वामीकार्तिक, बूढीनन्दा, गौमुल र खप्तड छेडेदह गाउँपालिकामा हिमपात भएको छ ।
बिच्छ्याँ, रुगिन, अम्लिसलगायत क्षेत्रमा आज (सोमबार) पनि हिमपात भइरहेको स्थानीयले जनाएका छन् । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, खप्तड, पोरखे लेकलगायत क्षेत्रमा पनि हिमपात भएको छ ।
हुम्लामा यो वर्षकै पहिलो हिमपात (फोटो फिचर)
हिमपात भएपछि गाईवस्तु चरिचरन गराउन र सर्वसाधारणलाई आउजाउमा समस्या भएको छ । हिमपात र वर्षासँगै अत्याधिक चिसो बढेको छ । चिसोका कारण महिला, बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरु बढी प्रभावित हुने गरेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जनाए ।
चिसोबाट जोगिन खानपिन र न्यानो कपडा लगाएर बस्न पनि गिरीले सर्वसाधारणलाई आग्रह गरेका छन् ।