व्यवस्था विरोधी आवाज देशमा अराजकता बढाउने हर्कत : महासचिव गुरूङ

मंसिर १८, २०८० |महेश केसी
व्यवस्था विरोधी आवाज देशमा अराजकता बढाउने हर्कत : महासचिव गुरूङ

रूकुम पश्चिम । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले पछिल्लो समय केही व्यवस्था विरोधीहरूले अराजकता फैलाउन थालेको बताएका छन् । देशमा दन्द्व सिर्जना गर्ने र बाह्य हस्ताक्षेप बढाएर अशान्ती सिर्जना गर्ने असफल प्रयास गरेको गुरूङको भनाइ छ ।

रूकुम पश्चिमको सदरमुकाम खलंगामा सोमबार आयोजित पत्रकार भेटघाटका क्रममा गुरुङले प्रतिगामी तत्वले शिर उठाउने अवस्था आउन नदिन गणतन्त्रवादी शक्तिहरू एक हुनुको विकल्प नभएको बताए । अर्को प्रसंगमा उनले भने, 'अहिलेको गठबन्धन बाँकी साढे तीनवर्षसम्म जाने कुरामा कुनै शंका छैन। सरकारको सही नीतिका कारण हामी गठबन्धन सरकारलाई निरन्तर अघि बढाउँछौँ ।'

गुरुङ भूकम्प प्रभावित क्षेत्रका पीडितलाई चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको राहत सामग्री पुर्‍याउने सिलसिलामा रूकुम पश्चिममा आइपुगेका हुन् । चीनबाट नेपालका पार्टीमार्फत बाँड्ने भनिएको राहत सामग्री प्रक्रियाका कारण कही ढिला भएको भन्दै उनले अब पीडितका लागि अस्थायी आवास मै केन्द्रित हुनुपर्ने कुरामा जोड दिए । 'भूकम्प प्रभावित जनताका लागि सुरक्षित र एकीकृत बसाई व्यवस्थापनमा सरकारको जोड हुन्छ । हामी यसमा गम्भीरताका साथ लाग्छौँ ।'

यसका साथै गुरुङले समाजवादी दिशामा अग्रसर भएका कम्युनिस्ट पार्टीहरूको एकता जरूरी भएको धारणा व्यक्त गरे । यसका लागि समाजवादी मोर्चा बनाएर एकताको प्रयास गरिएको भएपनि मोर्चामा आबद्ध दलकाबीच तयारी नपुगेका कारण केही समय लाग्ने जानकारी दिए ।  


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।