बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै बिहीबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारीअनुसार हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जिप धुलाचौर बजार नजिकै दुर्घटना भएको हो ।
बोलेरो जिपमा चालकसहित चार जना चढे प्रहरीले जनाएको छ । जिप दुर्घटनामा एक जना घाइते भएका छन् । घाइते हुनेमा गौमुल गाउँपालिका–३ का अन्दाजी १९ वर्षीय वसन्त धामी रहेको प्रहरी निरीक्षक ऐरीले बताए ।
सार्कीलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा पुर्याइएको र त्यसलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रहरी निरीक्षक ऐरीको भनाइ छ ।
जिप दुर्घटनामा परेका चालकसहित एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । जिप चालक खत्याड गाउँपालिका–९ का दलबहादुर लावणलाई प्रहरीले नियन्त्रण लिइसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।