कञ्चनपुर । कञ्चनपुरस्थित सीमा क्षेत्रमा भारतीय पक्षले सीमास्तम्भदेखि नै सडक कालोपत्रे गरेपछि नेपाली पक्षले विरोध जनाएको छ । गत सातादेखि कञ्चनपुरको भीमदत्त नगरपालिका ११, गड्डाचौकीस्थित ८०५ नम्बर सीमास्तम्भ क्षेत्रबाटै भारतले सडक कालोपत्रे गर्न थालेको हो ।
भारतले नेपाली भूमि अतिक्रमण गर्ने क्रम जारी छ । त्यसैको पछिल्लो उदाहरण हो कञ्चनपुरको गड्डाचौकीमा भारतले जबरजस्ती गरेको सडक कालोपत्रे । सीमावर्ती नेपाली भूभागमा नेपाली पक्षले सडक निर्माण, कल्भर्टसहितका संरचना बनाउँदा अनेकन बाधा खडा गर्ने भारतीय पक्षले दशगजा नै मिचेर सीमास्तम्भसम्मै कालोपत्रे गरेपछि स्थानीय बासिन्दाले विरोध जनाएका हुन् ।
नेपालको आफ्नै भूमिमा सडक मर्मतसम्भार गर्न खोज्दा पनि अवरोध गर्दै आएको भारतीय पक्ष आफूले भने अन्तर्राष्ट्रिय मान्यताविपरीत कञ्चनपुरको गड्डाचौकीमा दशगजासम्मै सडक कालोपत्रे गरेको छ । त्यससँगै जोडिएको नेपालतर्फको सडकको अवस्था भने नाजुक छ । त्यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दशगजा क्षेत्रमा कुनै संरचना बनाउन नपाउने भन्दै बाटोमा ग्राभेलसमेत राख्न दिएको छैन ।
‘बाटो खाल्डाखुल्डी, हिलो-धुलो हुने भएकाले हामीले आफ्नातर्फ थप ग्राभेल गरेर त्यसलाई सडक स्तरोन्ति गर्न खोज्दा भारतले अवरोध गरेको छ,’ भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकाश थापाले भने । हिँड्नलाई सहज होस् भनेर ग्राभेल हाल्न खोज्दा भारतीय पक्षले अवरोध गरेको स्थानीय गणेश चनाराको भनाइ छ ।
दशगजा क्षेत्रमा सडक कालोपत्रे गर्दा भारतले नेपालसँग समन्वय गर्नुपर्थ्यो । अनि नेपाललाई पनि आफ्नो क्षेत्रमा काम गर्दा अवरोध गर्नु हुँदैनथ्यो । तर यहाँनिर भारतीय पक्षले आफ्नो हैकम देखाउन खोजेको सरोकारवालाको बुझाइ छ । मेचीदेखि महाकालीसम्मै गलत स्ट्रिप नक्सा बनाएको कारणले धेरै ठाउँमा विवाद छ ।
‘के आधारमा गलत नक्सा बन्न गयो । त्यसको सही जवाफ जनतालाई दिएर यो सीमाविवाद तत्काल समाधान गर्नुपर्छ,’ अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लवराज भट्टले भने ।
कञ्चनपुरको प्यारातालदेखि ब्रह्मदेव र दोधारा-चाँदनीसम्मै ठाउँठाउँमा भारतीय पक्षले नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ । भारतीय पक्षबाट आनन्द बजारमा कल्भर्ट निर्माण गर्दा भएको विवादमा गोविन्द गौतमको हत्या भयो ।
त्यस्तै प्यारातालमा आँखा गाडेको भारतीय पक्षले बेलौरीको पचुई क्षेत्रमा डेढ किलोमिटर बढी सडक कालोपत्रे गर्न दिएको छैन भने भुडामा नेपाली जमिनमै खेतीपाती गर्न नदिएको छैन । महाकाली नदीवारि गड्डाचौकीमा आफ्नो क्याम्प राख्दै एकतर्फी रूपमा दशगजासम्मै सडक कालोपत्रे गर्नु भारतीय पक्षको बल मिच्याइँ भएको स्थानीय प्रशासनको बुझाइ छ ।
‘ठाउँठाउँमा विभिन्न समयमा भारत र नेपालबीच सीमा विवाद रही आएका छन् । यी सीमा विवादलाई नेपाल र भारत सरकारको उच्चस्तरीय समितिले प्रमाणका आधारमा यसको निर्क्योल गर्नुपर्ने हुन्छ,’ जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहोराले भने, ‘जबसम्म हामीले हामीसँग उपलब्ध प्रमाणहरु या तत्कालीन नक्सादि, इत्यादि जे छ त्यसलाई खोजेर भए पनि त्यसमा सहमति गर्नुपर्ने हुन्छ । त्यो नै यसको स्थायी उपचार हो जस्तो मलाई लाग्छ ।’
नेपाल-भारत सीमामा भारतले देखाउने बल मिच्याइँबारे सञ्चारमाध्यमले बारम्बार आवाज उठाए पनि राज्य संयन्त्रले भने देखेपनि नदेखेझैँ गरिरहेको छ ।
दुई देशको सीमाजस्तो संवेदनशील क्षेत्रमा भारतीय पक्षबाट खुलेआम हस्तक्षेप भइरहेको छ ।