बाजुराको कोल्टी डिपोमा चामल सकियो, भोकमरीको चिन्ता

आश्विन १०, २०८० |प्रेम रौले
बाजुराको कोल्टी डिपोमा चामल सकियो, भोकमरीको चिन्ता

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा रहेके कोल्टी डिपोमा मंगलबारदेखि चामल सकिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटको डिपो कार्यालय कोल्टीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै डिपोमा रहेको मौज्दात चामल सकिएको जनाउँदै बिक्रीवितरण बन्द गरेको छ ।

कोल्टी डिपोमा गत आर्थिक वर्षका लागि स्वीकृत भएको एक हजार ५५२ क्विन्टल चामल सर्वसाधारणलाई बिक्री गरेपछि चामल सकिएकाले डिपो कार्यालयको गोदाममा ताला लगाएको डिपो प्रमुख भीमबहादुर बुढाले जानकारी दिए ।

कोल्टी डिपोले उत्तरी भेगका चार पालिकाका नागरिकलाई सहुलियत दरमा चामल बिक्री गर्दै आएको थियो । आपतकालीन विपद्का लागि बाहेक चामलको मौज्दात सकिएकाले सर्वसाधरणका लागि चामल बिक्री बन्द गरिएको डिपो प्रमुख बुढाले जनाए ।

चामल ढुवानीका लागि ठेक्का भएपनि स्वीकृत नभएकाले तत्काल चामल ढुवानी हुने सम्भावना नरहेको डिपो प्रमुख बुढाको भनाइ छ । ठेक्का प्रक्रियामै ढिलाइ भएको र मार्तडीबाट कोल्टीका लागि चामल ढुवानी गर्न मार्तडी कोल्टी-सडक नियमित सुचारु नहुँदा झनै समस्या भएको प्रमुख बुढाले जनाए ।

कोल्टी डिपोमा चामल ढुवानीका लागि प्रादेशिक कार्यालयसँग समन्वय भइरहेको छ । दशैँ नजिकै आएकाले तत्काल चामल ढुवानीका लागि आवश्यक पहल गर्न जिल्ला प्रशासन कार्यालय बाजुरालाई आग्रह गरिएको डिपो शाखा प्रमुख बुढाले जानकारी दिए ।

शनिबार मार्तडीको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा जिरा-मसिनो दुई सय क्वीन्टल चामल पुगेको भएपनि कोल्टीमा भने चामल सकिएको छ । मार्तडी शाखामा ढुवानी भएर पुगेको जिरा मसिनो चामल भने बिक्री नहुने अवस्था देखिएको छ । शाखामा गएका सेवाग्राहीले अरुवा मोटो चामल खाजेपछि जिरा मसिनो चामल कम मात्रामा बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखाले जनाएको छ ।

जिरा-मसिनो चामलको मूल्य महँगो भएको भन्दै सर्वसाधारणले खरिदका लागि चासो नदेखाएको शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिए । सर्वसाधारणले अरुवा मोटो चामल मात्रै खोजी गरेको उनको भनाइ छ ।

प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पछि स्वीकृत हुने गरी अहिले ४ सय क्विन्टल बढी चामल ढुवानी गरेको भए पनि जिरा-मसिना चामल कम बिक्री भएको ओझाले जनाए ।


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।