काठमाडौंमा पृथ्वी जोगाउने चिन्ता

भाद्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा पृथ्वी जोगाउने चिन्ता

काठमाडौं । जलवायु परिवर्तनको जोखिम बढ्दै गइरहेको समयमा नेपाल सरकार र यूएन वुमन नेपालको सहकार्यमा साथसाथैले पृथ्वी जोगाउने विषयमा विमर्श गरेको छ ।

द क्लाइमेट चेन्ज च्यालेन्ज : एनी रोडम्याप फर जेन्डर रेस्पोन्सिभ एक्सन ? शीर्षकमा आयोजित जलवायु सम्मलेनका सहभागीहरुले पृथ्वी जोगाउने चिन्ता जनाएका छन् । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले आगामी जलवायु सम्मेलनमा सरोकारवाला सबै संघ-संस्था र नेपाल सरकार मिलेर जलवायु परिवर्तनबाट मुलुकमा परेको असरको क्षतिपूर्ति लिन पहल गर्नुपर्ने प्रतिबद्धता जनाए ।

नेपाल सरकार र यूएन वुमन नेपालको सहकार्यमा साथसाथै संस्थाले शुक्रबार राजधानीमा गरेको जलवायुसम्बन्धी कार्यक्रममा महतोले जलवायु परिवर्तनसम्बन्धी आगामी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८) मा धेरै उपलब्धि हासिल गर्न सकिने गरी सरकारले तयारी गरिरहेको जानकारी दिए । ‘विगतमा जलवायु सम्मेलनलाई गोष्ठी र विदेश भ्रमणको रुपमा बढी केन्द्रित गरेको पाइयो । तर, आगामी कोप-२८ मा सरकारले व्यापक तयारी गरेको छ, यसपालि पहिलोपटक एक लाख अमेरिकी डलर खर्चमा आफ्नै पेभिलियन (बृहत् मण्डल) राख्ने निश्चित भइसकेको छ । त्यसमा नेपालका मुद्दाबारे प्रदर्शन गरिनेछ,’ उनले भने, ‘नेपालका हिमाल र नेपालले गरेका कामहरुबारे त्यहाँ जानकारी गराइनेछ ।’

कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले हिमाल, पहाड र तराईका सबैतिर जलवायुले असर गरिरहेको र यसको मुख्य जोखिममा महिला, बालबालिका परिरहेको जनाइन् । ‘युवाहरुले यसको जोखिम न्यूनीकरणका लागि काम गर्नुपर्ने र महिला, बालबालिका र ज्येष्ठ नागरिकमा परेको असरलाई सम्बोधन गर्नुपर्छ । हामीले प्रकृतिलाई प्रेम गर्नुपर्छ भन्ने कुरालाई पछिल्लो पुस्तालाई सिकाउनुपर्छ,’ उनले भनिन् ।

आयोजक संस्था अध्यक्ष प्रजिता कार्कीले संस्थाले गर्दै आएका कामबारे जानकारी गराउँदै अहिले हाम्रो काँधमा भविष्यको पुस्ताका लागि बस्नयोग्य पृथ्वी सुरक्षित गर्ने ठूलो जिम्मेवारी रहेको धारणा राखिन् । उनले कृषिमा जलवायु परिवर्तनले गम्भीर असर गरिरहेको बताउँदै खाद्य संकटतर्फ उन्मुख भइरहेको उल्लेख गरिन् । ‘अबको केही महिनामै विश्वका नेताहरु कोप-२८ सम्मेलनका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भेला हुँदै छन् । हामीले जलवायु परिवर्तनको असरबारे नीतिगत निर्माण गर्ने केन्द्र तहदेखि स्थानीय तहसम्मका काममा निरन्तर समन्वय गरिरहेका छौं,’ उनले भनिन् । यस्तै यूएन वुमन नेपालकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज नेपाल सरकारले समावेशीताका लागि चालेका कदमहरु महत्त्वपूर्ण भएको प्रतिक्रिया दिइन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.