काठमाडौं । आज विश्व बाघ दिवस । सन २०१० देखि नेपाले पनि अन्तर्राष्ट्रिय स्तरमा बाघ दिवस मनाेउँदै आएको छ । ‘मानव-बाघ सहअस्तित्व : संरक्षण हाम्रो दायित्व’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रमका साथ विश्व बाघ दिवस मनाइँदै छ ।
करिब सय वर्ष अघि विश्वमा बाघको सङ्ख्या १ लाखको हाराहारीमा थियो । एक दशक अघिसम्म बाघको सङ्ख्या ३ हजार २ सयमा सीमित भएपछि विश्वमा यसको सङ्ख्या दोब्बर बनाउने लक्ष्य सहित सन् २०१० नोभेम्बरमा रुसको सेन्ट पिटर्सबर्गमा भएको भेलाले निर्णय गरेको थियो । सोहीअनुसार नेपालले बाघको सङ्ख्या दोब्बर बनाउन सफल भएको छ ।
नेपालमा बाघको सङ्ख्या ३ सय ५५ पुगेसँगै नेपालले सन् २०२२ सम्ममा सङ्ख्या दोब्बर बनाउन गरेको सङ्कल्प पनि पूरा गरेको हो । सबैभन्दा धेरै बाघ चितवनमा राष्ट्रिय निकुञ्जमा पाइएका छन् । त्यहाँ १ सय २८ वटा बाघ छन् ।
त्यसै गरी बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ बाघ पाइएका छन् । बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ छन् । । गत वर्ष मङ्सिर १९ गते सुरु भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बाघलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।
पछिल्ला वर्षहरूमा नेपालमा बाघको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ तर बाघ संरक्षणको चुनौती पनि कम छैन । बाघको प्रभावकारी व्यवस्थापन गर्न नसके मानव-बाघ द्वन्द्व बढ्ने अर्को जोखिम पनि उत्तिकै छ ।
यसैबीच विश्व बाघ दिवसकै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई शुभकामना सन्देश दिएका छन् । ‘बाघको बासस्थान सुरक्षित राख्दै वन्यजन्तुमा आधारित पर्यटन विकासमार्फत आम्दानी वृद्धि गर्दै स्थानीय स्तरमा हुने मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा सफलता प्राप्त गर्न सबैमा उत्प्रेरणा जगाओस्’, राष्ट्रपतिले शुभकामना सन्देशमार्फत भनेका छन् ।
हेर्नुहोस् शुभकामना सन्देश :-
विश्व बाघ दिवस सन् २०२३ को शुभकामना सन्देश
आज जुलाई २९ तारिखलाई विश्व बाघ दिवसका रूपमा विश्वभरि मनाइदैँछ । यस अवसरमा प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सम्वद्ध सबैलाई थप प्रेरणा मिलोस् भन्ने कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप आज नेपालमा पनि यो दिवस मनाउन गइरहेका छौं । यसै सन्दर्भमा नेपालले पनि उक्त प्रतिवद्धता अनुरूप बाघको सङ्ख्या करिब तेब्बर वृद्धि गरी सन् २०२२ मा रुसकै भ्लादिभोस्तोक शहरमा भएको दोस्रो बाघ सम्मेलन मार्फत आफ्नो मुलुकको उपलब्धि अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ ।
बाघ संरक्षणका लागि भएका प्रयासका उपलब्धिस्वरूप नेपालमा बाघको सङ्ख्या वृद्धि हुदै गएकोमा संरक्षणकर्मीको मनोबल र हौसलाले उचाइ लिएको सहजै अनुमान लगाउन सकिन्छ । समुदाय र बस्तीस्तर विशेष गरी मध्यवर्ती क्षेत्रका मानिसहरूमा बाघको महत्त्व, बाघ र मानवको द्वन्द्व कम गर्ने उपायका विषयमा ज्ञानको विस्तार गरी संरक्षणका कार्यहरूलाई निरन्तरता दिनु आवश्यक छ । बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि पनि महत्त्वपूर्ण हुने तथ्यलाई मनन गरी संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीहरूलाई आह्वान गर्दछु । बाघको संरक्षणमा नेपालले संसारमा नै नेतृत्वदायी भूमिका निर्वाह गरेको हुँदा बाघ जोगाउन अथक प्रयास गर्ने संरक्षणकर्मी, सुरक्षाकर्मी, जनसहभागितामा जुट्ने स्थानीय बासिन्दा, सञ्चारकर्मी एवम् सहयोगी संस्थाहरूलाई विशेष धन्यवाद दिन चाहन्छु ।
बाघको चोरी शिकारी तथा बाघका अङ्गहरूको अवैध व्यापार गर्ने ध्येयले गरिने आखेटोपहार ओसारपसार नियन्त्रणको लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाले विश्वव्यापी बाघ संरक्षणको अभियानमा पुगेको पहलकदमी सार्थक भएका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रको विकासले बाघको बास स्थानलाई सुरक्षित बनाउन टेवा पुगेको छ । बाघ र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्न र स्थानीय बासिन्दाको वन पैदावार माथिको निर्भरता कम गर्न जीविकोपार्जनका वैकल्पिक कार्यक्रमहरू सञ्चालनका लागि विशेष पहल गर्नु अत्यावश्यक रहेको छ भन्ने मलाई लाग्दछ ।
अन्तमा, आजको विश्व बाघ दिवस सन् २०२३ ले बाघको बास स्थान सुरक्षित राख्दै वन्यजन्तुमा आधारित पर्यटन विकासमार्फत आम्दानी वृद्धि गर्दैं स्थानीयस्तरमा हुने मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा सफलता प्राप्त गर्न सबैमा उत्प्रेरणा जगाओस् भन्ने कामना गर्दछु ।
जय नेपाल ।
मिति: २०८० साउन १३ गते शनिबार ।